स्थानीय तहको निर्वाचन : महिला उम्मेदवार कम, अहिलेसम्म कतिले दिए ?

काठमाडौं । स्थानीय तहका चुनावको लागि उम्मेदवार दिनेको संख्या एक लाख ५२ हजार नाघेको छ । हिजो बेलुकी अबरेसम्म संकलन भएको तथ्याङ्कअनुसार एक लाख ५२ हजार ६ सय ७६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगकाअनुसार केही जिल्लाका पालिकाबाट तथ्याङ्क संकलन बाँकी रहेकाले यो संख्या केही बढ्न सक्नेछ ।

आउँदो ३० गते हुने पालिका चुनावमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ । दलगत र स्वतन्त्रसहित मेयरमा तीन हजार ४९९, अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १५८, उपाध्यक्षमा दुई हजार ४०२, वडाध्यक्षमा ३५ हजार ३१० र वडा सदस्यमा ५५ हजार ५५९ जनाको उम्मेदवारी परेको छ । 

दलहरुले प्रमुख पदमा महिला उम्मेदवार कम उठाएका छन् । उपमेयर र उपाध्यक्षमा भने पुरुषभन्दा बढी महिला उम्मेदवार छन् । एमालेले मेयरमा २९१ जनालाई उम्मेदवार बनाउँदा महिला २७ मात्रै छन् । यस्तै एमालेबाट २६० महिला र २६ पुरुष गरी २८६ जना उपमेयरका उम्मेदवार बनेका छन् । कांग्रेसले १२ महिला र २५३ पुरुष गरी २६५ मेयर तथा १८० महिला र ३१ पुरुष गरी २११ जना उपमेयरको उम्मेदवार उठाएको छ । 

अध्यक्षमा एमालेको तर्फबाट २८ महिला र ४१८ पुरुष गरी ४४६ जना उम्मेदवार छन् । उपाध्यक्षमा ४१० महिला र ३५ पुरुष गरी ४४५ जना छन् । कांग्रेसले अध्यक्षमा १९ महिला र ३६३ पुरुष गरी ३८२ तथा उपाध्यक्षमा २९२ महिला र ६७ पुरुष गरी ३५९ जना उम्मेदवार बनाएको छ । 

माओवादी केन्द्रबाट १८ महिला र १५६ पुरुष गरी मेयरमा १७४ जना तथा १३० महिला र ८४ पुरुष गरी उपमेयरमा २१४ जना उम्मेदवार छन् । यस्तै अध्यक्षमा २९ महिला र २६१ पुरुष गरी २९० जना तथा उपाध्यक्षमा २०३ महिला र ११२ पुरुष गरी ३१५ जना माओवादीका उम्मेदवार छन् । 

एकीकृत समाजवादीबाट मेयरमा २३ महिला र १२७ पुरुष गरी १५० जना तथा उपमेयरमा १०६ महिला र ७१ पुरुष गरी १७७ जना उम्मेदवार छन् । एकीकृत समाजवादीले १२ महिला र १७५ पुरुष गरी १८७ जना अध्यक्षमा तथा ११२ महिला र ६८ पुरुष गरी १८० जना उपाध्यक्षमा उम्मेदवार उठाएको छ । 
 
 


प्रतिक्रिया दिनुहोस्