पार्टीको कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको वकालत गर्दै हिँड्ने गाइजात्रा पनि हुन्छ पार्टीमा ? : जगन्नाथ पौडेल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारीप्रति सत्ता गठबन्धनका नेताहरूले स्तरहीन टिप्पणी गरेको बताएका छन् ।

आफू मेयरमा उठ्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेताले देश बर्बाद हुने टिप्पणी गरेको भन्दै उनले आफूलाई ग्लानी भएको बताए ।

शनिबार भरतपुरमा समर्थकहरूलाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले भने, ‘प्रजातन्त्र आएको छ, कुनै व्यक्तिले चुनाव लड्छु भन्दैमा आकाश खस्छ रु कुनै व्यक्तिले चुनाव लड्छ जित्ला, कसैले हार्छ । यो त लाखौं मान्छेले सहभागिता जनाउने कार्यक्रम हो । प्रधानमन्त्री भएका व्यक्तिले यस्तो टिप्पणी गर्दा मलाई आत्मग्लानी भयो ।’

उनले गठबन्धनसँग आफ्नो सम्बन्ध नभएको भन्दै उनले भने, ‘मेयर उठ्दा देशै बर्बाद हुनेभयो । गठबन्धन टुट्ने भयो । आकाश खस्ने भयो । पाताल भासिने भयो । अचम्मै भयो ।’

अर्को प्रसंगमा उनले राष्ट्रलाई बाटो देखाउनुपर्ने कांग्रेस अर्को पार्टी र नेताको भुलभुलैमा लागेर आफ्नो पार्टी र कार्यकर्ता बिर्सिएको बताए । ‘अर्को नेताको लहलहैमा लागेर आफ्नो पार्टीको कार्यकर्तालाई कारबाही गर्ने अनि अर्काको वकालत गर्दै हिँड्ने । यस्तो गाइजात्रा पनि हुन्छ पार्टीमा ?’ उनले प्रश्न गरे ।


प्रतिक्रिया दिनुहोस्