दुई दिन विदा दिने निर्णय राजपत्रमा प्रकाशित

काठमाडौं । जेठ १ गतेदेखि लागू हुने गरी सातामा दुई दिन विदा दिने मन्त्रिपरिषद्को बैठकको निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

सूचना अनुसार सरकारले लगातार दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने व्यवस्था मिलाउने भएको छ । सरकारले लगातार तेस्रो दिन पनि सार्वजनिक विदा हुने अवस्थामा विभिन्न सरकारी निकाय अस्पतालहरुको सेवा सञ्चालन गर्ने व्यवस्था गर्ने गरी राजत्रपमा सूचना प्रकाशित गरेको छ ।

सरकारले प्रकाशित गरेको राजपत्रले सेवाग्राहीको चाप हुने सरकारी निकायहरुलाई शनिबार र आइतबार लगत्तैको दिनहरुमा अरु विदा परेमा सेवा सञ्चालन गरिराख्ने गरी व्यवस्था गरिने उल्लेख छ ।

सरकारले परीक्षणका रूपमा आउँदो जेठ १ गतेदेखि प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आज मंगलबार राजपत्रमा प्रकाशित भएको हो ।

नयाँ बिदा तालिका लागू भएसँगै अब जेठ १ गते सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय दैनिक ८ घण्टा हुनेछ । बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय समय कायम रहनेछ ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म भने दैनिक ७ घण्टा मात्र हुनेछ । उक्त समयमा बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म कार्यालय समय निर्धारण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्