मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढ्यो

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । कोटेश्वर र बालाजुको माछापोखरी क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ ।

ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि केहीबेर ट्राफिक जामको अवस्था छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि नै काठमाडौं उपत्यकाबाट जिल्ला फर्किनेहरूको संख्या बढेको छ ।

तर आजबाट कतिपय विद्यालयहरु पनि बन्द भएकाले विद्यार्थी र उनीहरूका अभिभावकहरू जिल्ला फर्किने क्रम ह्वात्तै बढेको हो ।कतिपयले गाडी रिजर्भ गरेर मानिसहरू गाउँसम्म ओसारिरहेका छन् ।

मतदाता नामावलीमा आफ्नो नाम जहाँ छ, त्यहीँबाट मात्र मतदान गर्न पाइने भएकाले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न उपत्यका छाडेर घर फर्किएको उनीहरुले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्