खोक्लिङमा ६३ प्रतिशत मत खस्यो

खोक्लिङ । शुक्रबार देशैभर भएको स्थानीय तहको निर्वाचन अन्तरगत मिक्वाखोला गाउँपालिकाको १ र २ नं. वडा खोक्लिङमा १ हजार ६ सय ७३ मत खसेको छ । १ नं. वडाको मोति मा.वि. मतदान केन्द्रमा महिला ४५७ र पुरुष ४१२ जना गरी कुल ८ सय ६९ जनाले मतदान गरेका छन् । कुल मतदाता संख्या १ हजार ३ सय ११ जना रहेको १ नं. वडामा उत्त खसेको मत ६६.२९ प्रतिशत हो । त्यस्तै २ नं. वडा अन्तरगत सगरमाथा आधारभुत विद्यालय मतदान केन्द्रमा भएको मतदानमा ८ सय ४ मत खसेको छ । कुल १ हजार ३ सय २१ मतदाता संख्या रहेको २ नं. वडामा उत्त खसेको मत ६०.८७ प्रतिशत हुन आउँछ । जसमा पुरुष ३ सय ९३ र ४ सय ११ जना महिलाले मतदान गरेका छन् ।

दुबै वडाको मतलाई जोड्ने हो भने १ हजार ६ सय ७३ मत हुन आउँछ जुन कुल २ हजार ६ सय ३२ मतदाता संख्या मध्ये ६३.५७ प्रतिशत हुन्छ । अतिसंवेदनशिल मानिएको भएपनि मतदान शान्तिपुर्ण तरिकाले सम्पन्न भएको खोक्लिङमा खटिएका प्रहरी नायव निरिक्षक डिल्लीराम विश्वकर्माले बताए ।
उनले भने,“प्रहरीको सुचिमा मिक्वाखोला गाउँपालिका संवेदनशील क्षेत्र हो । त्यसमा पनि खोक्लिङ अति संवेदनशील मतदान क्षेत्रमा राखेर सुरक्षा संयन्त्र परिचालन गरेका थियौं । शान्तिपुर्ण तवरले मतदान सकिएको छ ।” बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म भएको थियो । उत्साहपुर्वक भएको मतदानमा ज्येष्ठ र अशक्तले समेत आफन्तको साहारामा मतदान स्थलसम्म पुगेर मतदान गरेका थिए ।

एक नगरपालिका र आठ गाउँपालिका सहित कुल नौ स्थानीय तह रहेको ताप्लेजुङ जिल्लामा सबै मतदान केन्द्रमा शान्तिपुर्ण तरिकाले मतदान सकिएको र मतपेटिकालाई संकलनको काम भईरहेको जिल्ला निर्वाचन कार्यलय ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्