पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिकामा माओवादी केन्द्रका विजय प्रकाश वनेम विजयी

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार विजय प्रकाश वनेम विजयी भएका छन् । एमालेका राजन कुमार थक्लुङलाई ५५७ मतले पछि पार्दै वनेम पालिका अध्यक्षमा विजयी भएका हुन् । वनेमले २,६०९ मत प्राप्त गर्दा थक्लुङले २,०५२ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिका राष्ट्रिय मञ्चका चरणकुमार मुसुहाङले ४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी कमल कुमारी लिम्बु एमालेकी कौशिला थक्लुङलाई ४४० मतले पछि पार्दै विजयी भएकी छन् । लिम्बुले २,५४१ मत ल्यायदा थक्लुङ २१०१ मत प्राप्त गरेकी छन् । मैवाखोला गाउँपालिकामा काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेर चुनावमा सहभागी भएका थिए ।

मैवाखोलामा नेकपा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्य बाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथालो हो


प्रतिक्रिया दिनुहोस्