पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ ।

मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ । अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र बेथितिको अन्त्य गर्नुको साटो मूल्य समायोजनको नाउमा मूल्यवृद्धि मात्र गर्नु अस्वीकार्य रहेको उल्लेख गरेकी छन् ।

नेपाल आयल निगमले आइतबार १२ बजे राती देखि लागू हुनेगरी पेट्रोलियम पदार्थ र ग्याँसको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको छ । त्यस अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ ।

निगमले हवाई इन्धन (आन्तरिकमा) मा पनि प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेर नयाँ खुद्रा बिक्री मूल्य १६६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ ।त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २ सय रुपैयाँले बढाएर प्रति सिलिण्डर १८ सय रूपैयाँ पुर्याएको छ ।

निगमले यसअघि वैशाख ३१ गते पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रूपैयाँले वृद्धि गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्