बिमल मृत्यू प्रकरणः सचिव भट्टराईले गराए गृहमन्त्रीको ध्यानाकषर्ण प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १२:१७ प्रहरी भन्छ अनुसन्धान हुँदैछ,परिवार भन्छ घटनालाई ढाकछोप गरिए आन्दोलनमा उत्रिन्छौ ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर २ खोक्लिङका मृत अवस्थामा भेटिएका बिमल कार्कीको विषयमा गम्भिर भएर घटनाको सुक्ष्म अध्ययन गरि दोषिलाई कारबाही गर्न र पिडितलाई उचित क्षतिपूर्ती प्रदान गर्न एमाले सचिव एवम् प्रतिनीधि सभा सदस्य योगेश भट्टराईले गृह मन्त्रीको ध्यानाकषर्ण गराएका छन् । मंगलबार गृह मन्त्रालय पुगेर गृह मन्त्रि बाल कृष्ण खाँडलाई लिखित पत्र बुझाउँदै सचिव भट्टराईले घटनाको विषयमा ध्यानाकषर्ण गराएका हुन् । ध्यानाकषर्ण पत्र बुझ्दै गृहमन्त्री खाँडले नागरिकको जीवन रक्षा नै सरकारको दयित्व रहेको भन्दै घटनाको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने प्रतिक्रिया दिए । साथै सचिव भट्टराईले गत वैशाख २८ गते मृत अवस्थामा भेटिएका कार्कीको शब जिल्ला अस्पताल ताप्लेजुङका डाक्टरले पोष्टमार्टम गर्न नमानेको विषयप्रति पनि खेद प्रकट गरेका छन् । उनले डाक्टरको व्यवहार पेशागत मर्यादा बिपरित रहेको भन्दै गृह मन्त्रीको ध्यानाकषर्ण गराएका छन् । छानबिनको माग गर्दै सचिव भट्टराई सहित नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व सभासद पासाङ शेर्पा, एमाले उपत्यका विशेष प्रदेश कमिटि सदस्य चित्र गुप्ता साँबा, एमाले ताप्लेजुङ जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडा, युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेबे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रेम गुरागाईं साथै राजेन्द्र श्रेष्ठ गृह मन्त्रालय पुगेर घटनाको विषयमा गृहमन्त्रीको ध्यानाकषर्ण गराएका हुन् । घटना भएको आधा महिना पुग्नै लाग्दा पनि घटनाको विषयमा सत्यतथ्य बाहिर नआएको भन्दै बिमलको परिवारले भने आपत्ति जनाएका छन् । बिमलका बुबा भिम बहादुर कार्कीले भने, “वैशाख २८ गते घटना भएको आज जेठ ११ भई सक्यो अझैसम्म दोषी पत्ता नलाग्नु भने अनुसन्धान कतिको द्रुत गतिमा हुँदैछ भन्ने कुराको सहज अनुमान लगाउन सकिन्छ । यसरी नै घटनालाई आलटाल गरेर ढाकछोप गर्न लागिएको हो भने छोराको १३ दिन काम सकेर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।” एता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवत्ता एवम् सुचना अधिकारी प्रहरी नायब निरिक्षक कुशाराम कार्कीले घटनाको विषयमा अनुसन्धान भई रहेको र सत्यतथ्य पत्ता लगाई चाँडै सार्वजनिक गर्ने बताएका छन् । निरिक्षक कार्कीका अनुसार हालसम्म कसैलाई नियन्त्रणमा नलिईएको तर सोधपुछ कार्य भने जारी रहेको छ । उनले भने,“ घटनाको विषयमा अनुसन्धान भई रहेको छ । हालसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौं । केहिलाई सोधपुछ गरि सकिएको छ भने केहिलाई सोधपुछ गरि रहेका छौं । यस्को परिणाम केहि दिनमा नै आउने छ ।” गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मतदान गर्न वैशाख २८ गते दोभानबाट घरतर्फ हिडेका बिमल राति अबेर सम्म घर नआएपछि परिवार सहित स्थानीयले खोजि सुरु गरेका थिए । खोज्ने क्रममा घरतर्फ आउने सडकमा मोबाईल साथै त्यसको केहिपर जुत्ता, झोला र सडक भन्दा तिन सय मिटर तल खोर्साने दह माथि बिमलको शब देखेर प्रहरीलाई खबर गरेका थिए । मृतक कार्की दोभानको तेल्लाबुङ कन्सट्रक्सनमा जेसिबी चालकको रुपमा कार्यरत थिए ।