प्रदेश सांसदबाट राजीनामा दिएर मेयर बन्न खोज्ने ६ जना पराजित

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर स्थानीय तहको चुनावमा मेयर उम्मेदवार भएका ६ जना पराजित भएका छन् ।

प्रदेश सांसदबाट राजीनामा दिएर इलामको सूर्योदय नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता काजिमान कागते पराजित भएका छन् ।

उनी नेकपा एकीकृत समाजवादीका उम्मेद्वार तथा सूर्योदय नगरपालिकाकै पूर्व प्रमुख रणबहादुर राईसँग १८५२ मतान्तरमा पराजित भए । राईले १२ हजार ४३१ मत ल्याउँदा कागतेले १० हजार ५७९ मत ल्याएका हुन् ।

यस्तै मधेश प्रदेशबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका दुबै जना पराजित भएका छन् । प्रदेश सांसदबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा र शेख अबुलकलाम आजाद दुबै जना मेयर पदमा परजित भएका हुन् ।

सर्लाहीको गोडैताको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का देवेन्द्रकुमार यादवसँग ५४२ मतान्तरमा पराजित भए ।

लोसपाका यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत पाए । कुशवाहा २०७४ सालको स्थानीय निर्वाचनमा पनि नगर प्रमुखमा पराजित भएका थिए ।

मधेश प्रदेशकै प्रदेशसभा सदस्यबाट राजीनामा दिएर रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका शेख अबुलकलाम आजाद पनि पराजित भएका छन् ।

गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी ९जसपा० बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले हराए । यादवले ८६३१ मत ल्याउँदा आजादले ८०७३ मत मात्र पाए ।

यस्तै बागमती प्रदेश सभाबाट राजीनामा दिएर दुई महानगरको मेयरमा उम्मेदवारी दिएका दुई जनामध्ये १ जना पराजित भइसके भने अर्का एक पराजउन्मुख छन् । प्रदेश सांसदबाट राजीनामा दिएर भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका एमालेका विजय सुवेदी पराजित भए ।

उनी सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालसँग पारजित भए । मेयर बनेकी दाहालले ५२ हजार २८ मत ल्याउँदा सुवेदीले ३९ हजार ५ सय ८२ मत मात्रै पाए । यस्तै प्रदेशसभाबाटै राजीनामा दिएर काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित पनि पराजयउन्मुख छन् ।

काठमाडौंमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले सुरूदेखि नै अग्रता लिएपछि उनी पछि परे । बिचमा नेपाली कांग्रेसकी उम्मेदवारसँग पनि पछि परेका छन् । यद्यपि मतगणनाको अन्तिम परिणाम आइसकेको छैन । तर काठमाडौंमा बालेन शाहको जित पक्का पक्की भईसकेको छ ।

गण्डकी प्रदेश सभा सदस्यबाट राजीनामा दिएर महानगरको मेयरमा उम्मेद्वार बनेका कृष्ण थापा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यसँग पराजित भए । मेयरमा निर्वाचित आचार्यले ५८ हजार ८९३ मत पाउँदा थापाले ५२ हजार ८ सय ४८ मत मात्र पाए ।


प्रतिक्रिया दिनुहोस्