सबै मिलेर कृषिलाई सम्मानित पेशा बनाउनु पर्छः मन्त्री राई

ताप्लेजुङ । प्रदेश एकका सामाजिक विकास मन्त्री राजन राईले सबै मिलेर कृषिलाई सम्मानित पेशा बनाउनु पर्ने बताएका छन् । शुक्रबार ताप्लेजुङमा प्रदेश सरकारको आयोजना भएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट तर्जुमा छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले सो कुरा बताएका हुन् ।

साथै मन्त्री राईले खेतबारी बाँझो राखेर काम पाईन भन्दै खाडीमा जानुको सट्टा आफ्नै खेतबारीमा व्यवसायिक रुपमा कृषि खेतीमा लाग्न आग्रह गर्दै ताप्लेजुङ जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला भएकोले यस तर्फ प्रदेश सरकार, स्थानीय तह साथै सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए ।

उनले भने,“ आफ्नो खेतबारी बाँझै लडि रहेको छ अनि त्यही परिवारको युवा खाडीको तातो घाममा पसिना बगाउँदै काम गरि रहेको छ । अब सबै मिलेर आफ्नै देशमा आफ्नै खेतबारीमा व्यवसायिक कृषि खेतितर्फ लाग्नु जरुरी छ । कृषि पेशालाई सम्मानित पेशा बनाउनुपर्छ । साथै ताप्लेजुङ जिल्ला पर्यटनको प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास र विस्तारमा जनप्रतिनीधि सहित सरोकारवाला निकाय लागेमा आम्दानीमा वृद्धि गर्न सकिन्छ ।”
सबैको सल्लाह, सुझाव र प्रतिक्रियालाई आत्मसात गर्दै बजेट विनियोजन गरिने भएकोले बजेटको सामाथर्ले भ्याएसम्म ताप्लेजुङको समग्र विकासलाई मध्यनजर गर्दै बजेट विनियोजन गरिने मन्त्री राईको भनाई छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले प्रदेश र स्थानीय तहको समन्वय प्रभावकारी नभएको विश्वको सबै भन्दा ठुलो हाङ्देवाको पहिरो नियन्त्रणका लागि २ करोड बजेट विनियोजन गरिए पनि उचित अनुगमन र समन्वय नहुदा अर्थिक अनियमितता भएको तर्फ मन्त्री राईको ध्यानाकार्षण गराए ।

त्यस्तै मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बजेट कार्यन्वयनको विषयमा अनुगमन एवम् मुल्यांकन नगरिएको, बजेट डुप्लिकेसन भएको, डिपिआर धैरे बजेटको गरिएको ठेक्का लागि सकेपछि बजेट उपलब्ध नभएको बताउँदै यस विषयमा प्रदेश सरकार सजग रहँदै वजेट विनियोजन गर्न सुझाए ।

पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशर कुमार सुब्बाले प्रदेशको नाम एउटा र काम अर्को भएको भन्दै उनले यस विषयमा सचेत रहँदै आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्न आग्रह गरे । साथै उनले जिल्लाको फुङ्लिङ-दोखु-नाङखोल्याङ सडक योजना नाम दिएको र काम चै सोहि बजेटमा रहेर सिद्धिङ्वा गाउँपालिकामा भएको भन्दै बजेट लगाईदिन कि बजेट नै लाउन नसक्ने भए नाम मात्र राख्नुको औचित्य नभएको बताए ।

आठराई त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबुहाङले महिला तथा बालबालिकाको वृद्धि र विकासका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सुझाईन् । त्यस्तै गरि फत्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा (लिम्बू) ले गाउँपालिका अझैसम्म पनि नेटको पहुँच भन्दा बाहिर रहेकोले स्थानीयले सास्ती भोग्नु पर्ने स्थितिको अन्त्यका लागि बजेटमा समेट्न मन्त्री राईलाई आग्रह गरे ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट तर्जुमा प्रक्रिया अन्तरगत आज १४ वटै जिल्लामा मन्त्री र उच्चपदस्त सरकारी कर्मचारीहरुको उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरेको थियो । सोही अनुसार ताप्लेजुङका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख साथै जिल्लाका सरोकारवाला निकायसँग सामाजिक विकास मन्त्री राईको नेतृत्वमा उधोग श्रम तथा रोजगार मन्त्रालयका सचिव दीर्घराज मैनाली, आर्थिक मामिला तथा योजना मन्त्रालयका महाशाखा प्रमुख केशव कोईराला र शाखा प्रमुख योगेन्द्र नारायण चौधरी सहितको टोलीले छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।


प्रतिक्रिया दिनुहोस्