सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि, कसको कति पुग्यो ?

काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । अब सरकारी शिक्षक तथा कर्मचारीहरुको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढेको छ ।

सरकारी कर्मचारीले तलबसहित महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपैयाँ मासिक भत्ता पाउने भएका छन् । यसैगरी, हरेक वर्ष एक ग्रेडका दरले वृद्धि भएको रकम समेत तलबका रुपमा पाइने भएको छ । यसका साथै उनीहरुले पोशाक भत्ता समेत पाउने भएका छन् । निजामती कर्मचारीले साउन १ देखि सोही आधारमा तलब पाउनेछन् ।

अब मुख्यसचिवको तलब १० हजार रूपैयाँ भन्दा धेरैले बढ्नेछ । बढेको तलब अनुसार हाल ६७ हजार १४० रूपैयाँ पाउने गरेकोमा अब मुख्य सचिवले ७७ हजार २११ रूपैयाँ पाउनेछन् । यसरी १० हजार ७१ रूपैयाँले उनीहरूको पारिश्रमिकमा बढोत्तरी भएको हो ।

यस्तै, सचिवको तलब पनि ९ हजार ४०२ रूपैयाँले वृद्धि हुनेछ । ६२ हजार ६८० रूपैयाँ पाइरहेका सचिवको तलब अब ७२ हजार ८२ रूपैयाँ पुगेको छ ।

सहसचिवको तलब ४९ हजार ३८० रूपैयाँबाट बढेर ५६ हजार ७८७ रूपैयाँ पुगेको छ । उनीहरूको तलब सात हजार ४०७ रूपैयाँले बढ्ने भएको छ । यसैगरी, उपसचिवको ४२ हजार ३८० रूपैयाँ हालको तलब रहेकोमा ४८ हजार ७३७ रूपैयाँ पुग्नेछ । नयाँ बजेट अनुरूप उपसचिवको पारिश्रमिक ६ हजार ३५७ रूपैयाँले वृद्धि भएको हो ।

तलब बढ्ने क्रममा अधिकृतको तलब पाँच हजार ६९८ रूपैयाँले बढेर ४३ हजार ६८८ रूपैयाँ पुग्ने भएको छ । अहिले अधिकृतले ३७ हजार ९९० रूपैयाँ पाउने गरेका छन् ।

यसैगरी, नासुले ३० हजार २०० रूपैयाँ तलब पाउने गरेकोमा चार हजार ५३० रूपैयाँले बढ्दा ३४ हजार ७३० रूपैयाँ पाउनेछन् ।

खरिदारको तलब अब ३२ हजार ९०१ रूपैयाँ पुगेको छ । यसअघि उनीहरूको तलब २८ हजार ६१० रूपैयाँ रहेको थियो । आर्थिक वर्ष (७९/८०) को बजेट अनुसार यसरी उनीहरूको तलब चार हजार २९१ रूपैयाँले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्