अर्जेन्टिनाको ट्रेनिङमा हेर्नकै लागि ५० हजार दर्शक, बन्यो नयाँ रेकर्ड

एजेन्सी । दक्षिण अमेरिकी महादेशको च्याम्पियन अर्जेन्टिना र युरोपियन महादेशको च्याम्पियन इटाली बीच जुन १ तारिखमा बहुतप्रतीक्षित मैत्रीपूर्ण खेल आयोजना हुँदैछ ।

डिएगो म्याराडोना सुपर कप नाम दिइएको उक्त प्रतियोतिगा बेलायतमा हुनेछ । उक्त खेलका लागि अहिले अर्जेन्टिना र इटाली दुवै तयारीमा छन् । यो मैत्रीपूर्ण खेल आउन अब ४ दिन बाँकी छ ।

खेलको तयारीमा रहेको लिओनल मेस्सीको टिम अर्जेन्टिनाको ट्रेनिङ हेर्न जाने दर्शकको ओइरो लागेको छ । साथै यो नयाँ रेकर्ड पनि बनेको छ । अर्जेटिनी टोली खेल आउन लाग्दा अहिले स्पेनमा प्रशिक्षण गरिरहेको छ ।

उनीहरू खेलभन्दा दुई दिनअघि स्पेनबाटै बेलायत जाने कार्यक्रम रहेको छ । टोली अर्जेन्टिनाबाट तयारीका लागि ३ दिनअघि स्पेन पुगेको थियो । स्पेनिस मिडिया ‘मार्का’ र अर्जेन्टिनी मिडिया ‘टिजाईसी सपोर्ट’ का अनुसार शनिबार अर्जेन्टिनी टोलीले स्पेनस्थित बिल्बाओमा ‘खुला प्रशिक्षण’ गरेको थिए ।

सो दिनको प्रशिक्षण हेर्न करिब ५० हजार दर्शक रंगशाला पुगेका थिए । अर्जेन्टिनी टोली ला लिगा खेल्ने क्लब एथ्लेटिक बिल्बाओको घरेलु रंगशालामा अहिले प्रशिक्षण गरिरहेको छ । टोलीमा सबै खेलाडी समावेश छन् ।

अर्जेन्टिनाको खुला प्रशिक्षण हेर्नकै लागि ५० हजार दर्शक आएपछि यसले नयाँ रेकर्ड बनाएको छ । कुनै पनि अन्तर्राष्ट्रिय टोलीको प्रशिक्षण हेर्नकै लागि ५० हजार दर्शक रंगशाला पुगेको २१औं शताब्दीमा यो नै पहिलोपटक हो । ‘मार्का’ले यो रेकर्ड बारे एक रिपोर्ट नै प्रकाशित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्