अन्तर्राट्रिय चेस प्रतियोगितामा रुस, इजरायललगायत मुलुकका १६६ जना खेलाडीको सहभागिता

काठमाडौँ / होमल्याण्ड स्पोर्टस् क्लब नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय जीएम चेस प्रतियोगितामा आज पहिलो र दोस्रो चरणका खेल सम्पन्न भएका छन् ।
प्रतियोगितामा रुसका ग्राण्डमास्टर भोल्कोभ सर्जेइले दोस्रो चरणमा भारतका राहुल गुरुङसँग अप्रत्यासित बराबरी खेलेका छन् । पहिलो चरणमा भारतका सार्थक रावतलाई हराएका प्रतियोगिताकै शीर्ष वरियाता (२५९८) का भोल्कोभले १९६२ बरियताका भारतीय खेलाडी गुरुङसँग बराबरीमा रोकिएका हुन् । बराबरीपछि भोल्कोभको १.५ अंक भएको छ ।

यता भारतका ग्राण्ड मास्टर सन्दिपन चन्दाले आफ्नै देशका थेनडुप तामाङलाई हराउँदै २ अंकसहित संयुक्त अग्रता कायम गरेका छन् । पहिलो चरणमा उनले नेपालका उत्तम ढुंगेललाई पराजित गरेका थिए । यसैगरी अजरबैजानका ग्राण्डमास्टर मिर्जोभ अजरले पहिलो चरणमा रञ्जन कुँवर र दोस्रो चरणमा क्याण्डिडेड मास्टर नवीन तण्डुकारलाई हराउँदै २ अंक जोडेका छन् । भारतका ग्राण्ड मास्टर श्रीराम झाले पनि नेपाली फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठलाई पराजित गरी २ अंक जोडे । पहिलो चरणमा उनले नेपाली खेलाडी मोहन प्रधान सिंहलाई हराएका थिए । स्पेनका इन्टरनेशनल मास्टर मार्कोस भेगाले भारतीय खेलाडी सुदर्शन माल्गालाई हराउँदै २ अंक हासिल गरे । पहिलो चरणमा उनले नेपाली खेलाडी ध्रुव खड्कालाई हराएका थिए । रोमानियाकी इन्टरनेशनल मास्टर एलिना लामीले पनि दोस्रो चरणमा नेपाली क्याण्डिडेड मास्टर भगवतीप्रसाद शर्मालाई हराइन् । पहिलो चरणमा उनले भारतीय खेलाडी डब्ल्यू टी भुटियाबिरुद्ध जित निकालेकी थिइन् । यस्तै दोस्रो चरणको खेलमा भारतीय इन्टरनेशनल मास्टर हिमाल गोसाईले नेपालका सुमन लामालाई पराजित गरी २ अंकसहित संयुक्त अग्रता लिए । उनले पहिलो चरणमा नेपालका क्रिश अधिकारीलाई पराजित गरेका थिए ।

नेपाली क्याण्डिडेड मास्टर तथा यसै साता सम्पन्न गणेशमान स्मृति सहकारी चेसका उपाधि विजेता केशव श्रेष्ठले पनि लगातार दोस्रो जित निकालेका छन् । पहिलो चरणमा नेपाली प्रतिस्पर्धी खुस्बु थापालाई हराएका केशवले दोस्रो चरणमा पनि शेखर अधिकारीलाई हराउँदे २ अंक जोडे । नेपाल चेस संघको छात्रवृत्तिमा रुसमा चेस अध्ययन गरिरहेका रुपेश जयसवालले पहिलो चरणमा नेपालकै विशालकुमार श्रेष्ठलाई पराजित गरे भने दोस्रो चरणमा पनि नेपालकै अदिल मोहम्मदलाई हराउँदै २ अंक जोडे ।
भारतका इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले दुवै चरणमा नेपाली खेलाडीलाई हराउँदै २ अंक जोडे । उनले पहिलो चरणमा युवराज पौडेल र दोस्रो चरणमा नेपालका आशालाग्दा खेलाडीको रुपमा हेरिएका सुरवीर लामालाई पराजित गरे ।

यस्तै बंगलादेशका फिडेमास्टर अब्दुल मोहम्मदले नेपालका अनुप पोखरेललाई पराजित गर्दै २ अंक जोडे । उनले पहिलो चरणमा नेपालकी कृपा अधिकारीलाई पराजित गरेका थिए । नेपाली खेलाडी महेश्वरलाल डंगोलले आफूभन्दा उच्च बरियताका भारतीय खेलाडी एन रामाराजुलाई हराउँदै २ अंक जोडे । नेपालका क्याण्डिडेड मास्टर मदनकृष्ण कायस्थ भारतीय खेलाडी रञ्जन आर्यनसँग पराजित भए । पहिलो चरणमा उनले श्रीलंकाली खेलाडी जी जुडेदोरिसनलाई पराजित गरेका थिए । रु दश लाख कुल पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा भारत, रुस, अजरबैजान, इजरायललगायतका मुलुकका १६६ जना खेलाडीको सहभागिता छ । प्रतियोगितामा नौ जना ग्राण्डमास्टरले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगिता मंगलबारसम्म चल्नेछ । रासस


प्रतिक्रिया दिनुहोस्