मिरुनाले फूर्वासँग माफी नमागेसम्म सिक्किममा ‘कबड्डी-४’ चल्न नदिने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी-४’ सिक्किममा रिलिज गर्न नदिने भएको छ । फिल्म सिक्किममा रिलिज भएको खण्डमा सडक आन्दोलन गर्ने बौद्ध धर्मगुरुले चेतावनी दिएका हुन् । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा गरेको पत्रकार सम्मेलनमा फिल्मको सिक्किम प्रदर्शन रोक्न माग गरेका हुन् ।

नेपालमा लामा माथि फिल्मकी नायिकाले अन्याय गरेकाले सिक्किममा यो फिल्म प्रदर्शन गरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । यस्तै पिन्त्सोले फिल्ममा अभिनेता दयाहाङ राईले भिक्षुको भूमिका निर्वाह गरेको विषयमा पनि आपत्ति जनाएका छन् ।

उनले भने, ‘यदि फिल्म हलमा रिलिज भएको खण्डमा लामाहरु सडकमा उत्रिनेछन् र हल तोडफोड भए त्यसको जिम्मेवारी लिन हामी तयार छैनौं ।’ उनले फूर्वा माथि अन्याय भएको भन्दै उक्त घटनाले विश्वभरका बौद्ध धर्मावलम्बीहरुमाथि अन्याय भएको बताए ।

नेपालको घटना भएकाले फिल्मको सिक्किम रिलिज नरोक्न आग्रह आएको भएपनि लामा भएको नाताले आफूले फूर्वा माथिको अन्याय महसुस गरेको उनको भनाई छ । नायीका मिरुना मगरले फूर्वासँग माफी नमागेसम्म फिल्म चल्न नदिने पिन्त्सोको भनाई छ । राम्रो मुखले भन्दा नमानी फिल्म रिलिज गरेको खण्डमा तोडफोड हुने उनले चेतावनी दिए ।

गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा चलचित्रको प्रतिकृया लिने क्रममा लामाले आफूलाई ‘ब्याड टच’ गरेको भन्दै मिरुनाले झापड हानेकी थिइन । दुई दिन प्रहरी हिरासतमा रहेका लामा धरौटीमा छुटेपछि मिरुनासँग कागजी रुपमा माफी मागेका थिए ।

तर यो विवाद माफी मागे पनि सेलाउन भने सकेन । एकातिर मिरुनालाई गाली गर्ने क्रम रोकिएको छैन । अर्कोतिर लामालाई पनि सामाजिक संजालमा अनेक प्रतिकृया आइरहेका छन् । लामाले माफी मागेको पर्सी पल्ट आफ्नो बोली फेरेका छन् ।

उनले मिरुनाले रोएका कारण आफूले गल्ती नगरे पनि माफी मागेको बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्