लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिइन्

एजेन्सी । भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ ।

प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ ।

उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेशनसँग जुधिरहेकी थिइन् ।

बञ्जारा प्रहरी स्टेसनका इन्स्पेक्टर नागेश्वर रावले प्रत्युषाको कोठाबाट एक नोट फेला पारेको छ । उनले त्यो नोटमा कसैलाई दोष लगाएकी छैनन् । ‘म निकै एक्लो महशुस गरिरहेको छु र डिप्रेशनमा छु’, उनले लेखेकी छन् । उनको यो नोटले उनले आत्महत्या गरेको संकेत गरेपनि प्रहरीले यो मामलामा अनुसन्धान सुरु गरिसकेको छ ।

प्रत्युषाले अमेरिकाबाट फेसन डिजाइनिङ पढेकी थिइन् । त्यसपछि उनले हैदराबादमा फेसन डिजाइनरका रुपमा करियर सुरु गरिन् । उनले सन् २०१३ मा आफ्नो नामको एक लेबल पनि सुरु गरेकी थिइन् । त्यसपछि उनी निकै लोकप्रिय बनिन् ।


प्रतिक्रिया दिनुहोस्