मल उत्पादन केन्द्रको विकास गर्न फक्ताङलुङ गाउँपालिका र अलमोष्ट हेवन फाम्र्सबीच सम्झौता

ताप्लेजुङ,असार १३ । पालिका क्षेत्रमा प्रयोग गर्न प्रांगारिक मल र जैविक मल उत्पादन केन्द्रको विकास गर्ने लक्ष्य सहित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अलमोष्ट हेवन फाम्र्ससंग सम्झौता गरेको छ । पालिका अध्यक्ष राजन(मुक्ति)लाबुङको उपस्थितिमा अलमोष्ट हेवन फाम्र्सकातर्फबाट सञ्चालक ज्याकरी बार्टन र पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेबीच कार्यक्रम सञ्चालनका लागि द्धिपक्षिय सम्झौता भएको हो ।

सम्झौता अनुसार अब फक्ताङ्लुङ गाउँपालिकाका किसानलाइ प्रांगारिक कृषि र उत्पादन केन्द्रित सीप र शिक्षा प्रदान गर्ने,जैविक खेति प्रकृया र जैविक मलको अनुसन्धान गर्ने र आयोजना अवधिभरमा गाउँपालिकाबाट कम्तिमा ७ जना महिला उद्यमी तयार पारी साना घरेलु उद्योग स्थापना गरिने भएको छ । यसका लागि अलमोष्ट हेवन फाम्र्सले कार्यक्रम अघि बढाउने एकजना पूर्णकालिन कर्मचारीको आवश्यक तलवभत्ता व्यहोर्ने भएको छ । साथै,उसले जैविक मल बनाउन र प्रयोग गर्न तालिम दिने र जैविक मल बनाउनका लागि आवश्यक औजार तथा सामग्री प्रदान गर्ने भएको छ ।

अलमोष्ट हेवन फाम्र्सले जैविक मलको ब्राण्ड र बजारीकरणको विकास गर्ने छ भने उद्यमी बनाउन चाहने महिलालाइ तालिम प्रदान गर्ने भएको छ । उसले महिला उद्यमशिलता विकासका लागि ७ जनालाइ ५० प्रतिशत अनुदान बापत १ लाख ५० हजार रुपैंयाका दरले रकम उपलब्ध गराउने भएको छ । सम्झौता अनुसार गाउँपालिकाले जैविक मल कारखाना र एकिकृत कृषि ज्ञान केन्द्र स्थापनाका लागि १० लाख रुपैंया उपलब्ध गराउने भएको छ । गाउँपालिकाले कृषि ज्ञान केन्द्र स्थापनाको पूर्ण जिम्मेवारी समेत लिने भएको छ भने कृषि ज्ञान केन्द्र स्थापनाका लागि कम्तिमा ४ देखि ५ रोपनी सम्म जग्गा उपलब्ध गराउने भएको छ । गाउँपालिकाले परियोजनामा सुरक्षा र प्राविधिक सहयोग समेत उपलब्ध गराउने दायित्व लिएको छ । उसले परियोजनामा समुदायलाइ संलग्न गराउने समेत जिम्मेवारी समेत पाएको गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूले जानकारी दिनुभयो । परियोजनाको अवधि २०७९ साल भदौ देखि २०८२ साल साउन महिना सम्म कायम रहने गाउँपालिकाले जनाएको छ । इ उज्यालो पोष्ट डटकमबाट


प्रतिक्रिया दिनुहोस्