खोक्लिङका तीन सय परिवारलाई ग्याँस चुल्हो वितरण

प्रयास लिम्बू
ताप्लेजुङ, असार १४ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले तीन सय परिवारलाई ग्याँस चुल्हो वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ खोक्लिङका बासिन्दालाई खाना पकाउने ग्याँस सिलिन्डर र चुल्हो वितरण गरेको हो ।
मिक्वाखोला गाउँपालिकाले ‘एक घर, एक खाना पकाउने ग्याँस चुल्हो’ कार्यक्रममार्फत खोक्लिङका तीनसय घरपरिवारलाई ग्याँस चुल्हो वितरण गरेको हो । सोमबार गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामाले स्थानीयको घर–घरमा पुगेर ग्याँस चुल्हो वितरण गर्नुभएको हो ।

गाउँपालिकाबाट विनियोजित २५ लाख रुपियाँ बजेटले ग्याँस चुल्हो खरिद गरी १ नम्बर वडाबासीलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव घनेन्द्र थापाले जानकारी दिनुभयो । यता दाउराको प्रयोग गर्दै आएका सर्वसाधारणले ग्याँस चुल्हो पाएपछि राहतको महशुस गरेका छन् । ग्याँस चुल्हो प्रयोगले छोटो समय भएको बेला खाना पकाउन साथै भान्सामा काम गर्नलाई छिटो, छरितो र सहज हुनेभन्दै सर्वसाधारणले खुसीसमेत व्यक्त गरेका कार्कीका स्वकीय सचिव थापाले बताउनुभयो । अझै केही परिवारका लागि ग्याँस चुल्हो सेट अपुग भएकाले गाउँपालिकाले क्रमशः वितरण गर्ने योजना बनाएको पनि उहाँले सुनाउनुभयो ।


प्रतिक्रिया दिनुहोस्