याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता आयोजना गर्दै

काठमाडौं, १४ असार। याक्थुङ युवा मञ्चले सिसेक्पा तङनाम फुटसल प्रतियोगिता २०७९ आयाोजना गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसरमा युवा मञ्चे काठमाडौंले ‘सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९’ आयोजना गर्न लागेको हो ।

प्रतियोगिता आउँदो श्रावण ७ र ८ गते शान्तिनगर फुटसल खेलमैदानमा सञ्चालन हुने याक्थुङ युवा मञ्चकी काठमाडौं जिल्ला अध्यक्ष सङ्गीता सुहाङ लिम्बूले जानकारी दिइन् । उनले भनिन्, ‘न्याय, समानता, पहिचान, अस्तित्व रक्षा र युवा हकअधिकारको लागि वकालत गर्न साथै समुदायको हितमा अतिरिक्त क्रियाकलाप मार्फत सक्रिय बनाउन सोँच बनाएका हौँ ।’

प्रतियोगितामा सामेल हुन टिमले अतिरिक्त सहित सात खेलाडी उपलब्ध गराउनुपर्नेछ । साथै, टिममा कम्तीमा चार जना याक्थुङ लिम्बु समुदायका खेलाडी अनिवार्य हुनुपर्नेछ । प्रवेश शुल्क ३५,०० रूपैयाँ तोकिएको छ । विजेता टिमले ट्रफीसहित नगद ५५,५५५ रूपैयाँ जित्नेछन् । त्यस्तै उपविजेता टिमले ट्रफीसहित नगद ३३,३३३ रूपैयाँ हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी सहित नगद पाँच हजार रुपैयाँ हात पार्नेछन्। खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ ।

इच्छुक टिमले आयोजकका पदाधिकारीहरूलाई सम्पर्क गरेर टिम दर्ता गर्न सक्नेछन् । २०७५ मा भएको पहिलो संस्करणमा २८ टिम सहभागी भएका थिए । त्यस्तै, २०७६ को दोस्रो संस्करणमा तीन दर्जन टिम सहभागी थिए । यसपटक पनि राम्रो संख्यामा टिम र खेलाडीहरूको सहभागिता रहने मञ्चकी अध्यक्ष सुहाङले विश्वास व्यक्त गरिन् । याक्थुङ युवा मञ्चको स्थापना २०७१ मा भएको हो ।


प्रतिक्रिया दिनुहोस्