विशेष समितिले जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन प्रक्रिया अगाडि बढाउने

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको छ ।

बजेट निर्माणका विषयमा शर्मामाथि विभिन्न आरोप लागेपछि प्रतिनिधिसभाले गत बुधबार छानबिन गर्न ११ सदस्यीय विशेष समिति गठन गरेको थियो । सोही समितिले मंगलबारबाट शर्मामाथि छानबिन सुरु गर्नेछ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज संसद भवन सहजीकरण बैठक डोकेका थिए । बैठकले आउँदो मंगलबार विशेष समितिको पहिलो बैठक बस्ने र सोही दिन कार्यविधि बनाएर आफ्नो कार्य थाल्ने निर्णय गरेको छ ।

बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई तोकेको छ । विशेष समितिलाई छानबिन कार्यका लागि १० दिनको समयावधि दिइएको छ ।


प्रतिक्रिया दिनुहोस्