ताप्लेजुङका किसान जडीबुटी खेती गर्न उत्साहित

ताप्लेजुङ । ताप्लेजुङका किसान जडीबुटी खेतीमा उत्साहित देखिएका छन् । जडीबुटी खेती लगाउन तथा बिस्तार गर्नमा अनुदान सहयोग पाएपछि किसान उत्साहित भएका हुन् । जडीबुटी खेतीका लागि डिभिजन वन कार्यालय ताप्लेजुङले किसानलाई अनुदान दिँदै आएको छ । आफ्नो निजी जडीबुटी खेती गर्नलाई आर्थिक अनुदान सहयोग पाएपछि किसानहरु खेती गर्नतर्फ उत्साहित देखिएका छन् ।

आर्थिक सहयोगले जडीबुटी खेतीका लागि ठूलो राहत मिलेको पनि किसानले बताएका छन् । बहुमूल्य सतुवा, लौठसल्ला, तितेपाती, टिमुर लगायतका जडीबुटी खेती गर्ने किसानले अनुदान सहयोग पाउँदै आएका छन् । अनुदान सहायता पाएपछि खेती बिस्तार गर्नमा सहयोग पुगेको फुङ्लिङ नगरपालिका–९ का किसान कुमार गुरुङले बताउनुभयो । अनुदान पाएपछि दुई(चार हजार बिरुवा रोपेर सुरु गरेको सतुवा खेती बिस्तार गरेको बताउनुभयो । उहाँले सतुवा खेती बिस्तार गरेर अहिले १९ हजार बिरुवा रोपेको जानकारी दिनुभयो ।

यस्तै फुङ्लिङ नगरपालिका–८ दोखुका कुमार लिम्बूले पनि अनुदान सहयोग पाएपछि आफ्नो जडीबुटी खेती बिस्तार गर्नुभएको छ । लिम्बूले पनि आफ्नो निजी जग्गामा सतुवा खेती लगाउनुभएको छ ।
पाथीभरा याङ्वरक गाउँपालिका–१ का किसान सनम गुरुङले तितेपाती खेतीका लागि अनुदान पाउनुभएको छ । केही वर्ष अघिदेखि तितेपाती खेती सुरु गर्नुभएका गुरुङले आर्थिक अनुदान पाएपछि खेती बिस्तार गर्न थाल्नुभएको छ । निजी खेतीका लागि यसरी अनुदान पाएपछि जिल्लाका धेरै किसान जडीबुटी खेती गर्नमा उत्साहित भएका छन् ।

जडीबुटी खेती बिस्तार तथा व्यवस्थापनमा अनुदान सहयोग पाउँदै आएका किसानले भने जडीबुटी उत्पादनपछि बजारीकरणका लागिसमेत सहयोग पाउने अपेक्षा राख्दै आएका छन् । आइतबार किसानले गरेको जडीबुटी खेतीको अनुगमन तथा निरीक्षण गर्न पुगेको डिभिजन वन कार्यालयको टोलीसँग जडीबुटीको बजारबारे जानकारी नभएको किसानले बताएका छन् । जडीबुटी खेती गर्दै आउनुभएका किसान कुमार गुरुङले सतुवा प्रतिकिलोग्राम १७ हजार रुपियाँ सम्ममा बिक्री हुने सुनेको भए पनि कहाँ र कसलाई बिक्री गर्ने भन्ने अहिलेसम्म थाहा नभएको बताउनुभयो । उहाँले जडीबुटीको बजारीकरणमासमेत सहयोग हुनुपर्ने आशय व्यक्त गर्नुभयो । जडीबडी खेतीमा सङ्लग्न जिल्लाका अधिकांस किसानहरु बहुमूल्य जडीबुटीको बजार र मूल्यबारे बेखबर रहेका छन् ।आइतबार जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, डिभिजनल वन अधिकृत वीरेन्द्र शाह, प्रहरी नायव उपरीक्षक कैलास राई, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा, पत्रकार लगायतको टोलीले जडीबुटी खेतीको अनुगमन गरेको छ । अनुगमनका क्रममा जिल्ला समन्वय समिति प्रमुख लामाले अनुदान सहयोगलाई सही सदुपयोग गरी बढीभन्दा बढी फाइदा लिन किसानलाई आग्रह गर्नुभयो ।
यता चालू आर्थिक वर्षमा २०७८र७९ मा जडीबुटी खेती गर्नका लागि साढे सात लाख रुपियाँ प्रोत्साहन स्वरुप विभिन्न किसानलाई अनुदान सहयोग उपलब्ध गराएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत ललितकुमार यादवका अनुसार सतुवा, तीतेपाती, चिराइतो, लौठ सल्ला र टिमुर लगायत जडीबुटी खेती गर्ने ६ जना किसानलाई उक्त अनुदान उपलब्ध गराइएको हो । चालू आवभित्रै डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय फुङ्लिङमा पनि नर्सरी उत्पादन गरिएको छ । त्यस्तै डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा तोक्मेडाँडा सामुदायिक वन उपभोक्ता समूहले तोक्मेडाँडा सामुदायिक वन क्षेत्रमा हरियाली पार्कसमेत निर्माण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्