गभर्नर अधिकारी एमालेको अर्थ विभागमा सदस्य रहेको खुलासा, उनी भन्छन् : कुनै पार्टी राजनीतिमा संलग्न छैन 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको खुलासा भएको छ। 

तर, गभर्नर महाप्रसाद अधिकारीले आफू कुनै पार्टी राजनीतिमा नरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा अधिकारीलाई पनि राखिएको खुलेपछि गभर्नर अधिकारीले यस्तो प्रष्टिकरण दिएका हुन् । 

उनले भनेका छन्–‘यसरी कोही बस्छ ? वास्तवमा म कतै कुनै पार्टी राजनीतिमा छैन । कोही भए पनि यस्तो गहन जिम्मेवारीमा रहेर त्यस्तो कुरा मान्छ र ?’

उनलाई एमालले गठन गरेको अर्थ तथा योजना विभागको सदस्यको दोश्रो नम्बरमा राखिएको छ । महाप्रसाद अधिकारी भनी नाम राख्दा विवाद आउने ठानेर एमालेले उनको नाम एम। अधिकारी भनी राखेको छ । उनको जिल्ला भने खोटाङ नै राखिएको छ । 

सो विभागका एक सदस्यका अनुसार एम. अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी नै हुन् ।अधिकारी एमाले समर्थित व्यक्ति हुन् । एमाले सरकारको पालामा उनी लगानी बोर्डको अध्यक्ष समेत भएका थिए । लगानी बोर्डमा भएकै अवस्थामा एमालेले अर्थमन्त्री बनाएका डा। युवराज खतिवडाको जोडबलमा उनलाई गभर्नर बनाइएको थियो । 

अहिले पनि गभर्नर अधिकारीले लिने कतिपय महत्वपूर्ण निर्णयहरूमा डा. खतिवडाको अप्रत्यक्ष सहभागिता हुन्छ भन्ने चर्चा एमाले वृत्तमै समेत चल्ने गर्छ । खोटाङ एमालेका अनुसार जिल्लामा एम। अधिकारी नामको कुनै पनि व्यक्ति छैन । 

सो जिल्लाबाट बसाइँसराई गरेर एम. अधिकारी नामको कुनै पनि व्यक्ति विभागको सदस्यको हैसियतमा पुगेको कुनै रेकर्ड छैन । एमाले निकट स्रोतका अनुसार खोटाङबाट प्रतिनिधित्व गर्ने एमाले नेता विशाल भट्टराईको जोडबलमा महाप्रसाद अधिकारीलाई विभाग सदस्य बनाइएको हो । 

राष्ट्रबैंकको गभर्नरजस्तो पदमा रहेको व्यक्तिलाई पार्टीको विभाग सदस्यमा राखिएकोमा एमालेभित्र पनि असन्तुष्टि देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्