माओवादी केन्द्रद्वारा मैवाखोला अध्यक्ष वनेमलाई कारबाहीको सिफारिस, शंखर जिम्मेवारीबाट निष्कासित 

काठमाडौं । पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै नेकपा माओवादी केन्द्रले ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमलाई कारवाहीको सिफारिस गरेको छ ।

माओवादी केन्द्र १ नम्बर प्रदेश समितिले पार्टीका केन्द्रीय अध्यक्षलाई पत्र लेख्दै प्रदेश समितिको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरी आवश्यक छानविन र कारवाहीको लागि सिफारिस गरेको हो । 

प्रदेश समितिले असार ३ गते सोधेको स्पष्टिकरणको जवाफ वनेमले असार ५ गते दिएकोमा चित्तबुझ्दो नभएको भन्दै आवश्यक कारबाहीका लागि सिफारिस गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ र सचिव गणेश उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

 पालिका अध्यक्ष वनेमले गत वैशाख ३० गतेको निर्वाचनमा प्रयोग गर्न दिइएको उम्मेदवार मनोननयपत्रको दुरुपयोग गरी आफू प्रस्तावक रही फुङलिङ नगर कमिटीका अध्यक्ष गंगाराम शंकरलाई पार्टीको निर्णय विरुद्ध जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दर्ता गराउँदा पार्टीलाई गम्भिर क्षति भएकाले कारवाहीका लागि सिफारिस गरिएको माओवादी केन्द्रको १ नम्बर प्रदेश समितिले जनाएको छ । 

यस्तै पार्टीका फुङलिङ नगर कमिटी अध्यक्ष तथा नगर कार्यपालिका सदस्य शंखरलाई प्रदेश समितिले अनिश्चित समय सम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निष्कासन गरेको छ ।

यस्तै प्रदेश समितिले जिल्ला समन्वय समिति ताप्लेजुङका संयोजक र फुङलिङ नगर कमिटी इन्चार्ज बमबहादुर भट्टराई९तारा०लाई पत्रमार्फत शंखरलाई निष्कासित गरेको जानकारी गराएको छ । 


प्रतिक्रिया दिनुहोस्