तीर्थयात्रीको यात्रा सहज बनाउन पाथीभराको पदर्मागमा फाइवरको छाहारी

ताप्लेजुङ। प्रसिद्ध तीर्थस्थल पाथीभराको पदर्मागमा फाइवरको छाहारी लगाइएको छ । पाथीभराको दर्शनमा जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउन पदमार्गमा फाइवरको छाहारी लगाइएको हो ।

हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले पदमार्गमा फाइवरको छाहारी लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार पाथीभरा धाम क्षेत्रदेखि फाइबरको छाहारी लगाउन थालिएको छ ।

पदमार्ग नै ढाक्नेगरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छाहारी लगाएको समितिका कार्यकारी निर्देशक काफ्लेले बताए । उनका अनुसार गत आर्थिक वर्षमा ३० लाख रुपियाँ खर्चिएर फाइवरको छाहारी लगाइएको छ । पदमार्गमा फलामे ट्रस जडान गरी फाइवरको छाहारी लगाइएको उनले बताए।

पाथीभरा पदमार्गमा अघिल्लो आर्थिक वर्षदेखि नै फाइवरको छाहारी लगाउन थालिएको छ । गत आवमा मात्र करिव ९४ मिटर दूरीभित्र पदमार्गमा फाइवर छाहारी लगाएको समितिले जनाएको छ ।

पाथीभरा धामदेखि तल फेदीबजारतर्फ ठूलो घण्टीसम्म करिव छ सय मिटर पदमार्गमा फाइवरको छाहारी लगाई सकिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । पदमार्गलाई तीन मिटर चौडाइमा विस्तार गरी फाइवरको छाहारी लगाएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्