निवर्तमान अर्थमन्त्री शर्मामाथिको अनुसन्धान अवधि लम्बियो

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको अनुसन्धान अवधि लम्बिएको छ ।

अर्थमन्त्रीमाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको अनुरोधपछि बिहीबार प्रतिनिधि सभाले समितिको म्याद ७ दिनका लागि थप गरेको छ ।

बजेट निमार्णका क्रममा अनाधिकृत व्यक्तिहरुको प्रवेश र सिसीटिभी फुटेज गायब भएको विषयबारे आधार र प्रमाणसहित निष्कर्षमा पुग्न र प्रतिवेदन पेश गर्न आवश्यक समय थप गर्न लेखि आएको भन्दै सभामुख सापकोटाले म्याद थप गर्न प्रतिनिधि सभामा सहमति जनाउन अनुरोध गरेका थिए । बहुमत सांसदहरूले सहमति जनाएपछि उक्त समितिको म्याद सात दिन थप भएको हो ।

असार २२ गते गठन भएको समितिले असार २८ गतेदेखि काम सुरु गरेको थियो । समितिको कार्यावधि दश दिन मात्र रहेकाले बिहीबार सकिँदै थियो । समय थप भएसँगै समितिले थप अनुसन्धानको लागि अब साउन १२ गते बिहीबारसम्म समय पाएको छ ।

समितिले यसअघि बिहीबार नै निवर्तमान अर्थमन्त्री शर्मासँग २ घण्टा बढी छलफल गरेको थियो । तर अर्थ सचिव सहित उच्च अधिकारी र सम्बन्धीत शाखाका प्रमुखहरुबाट पाएजस्तै बजेट निर्माणको विधि र प्रकृयाभन्दा बाहिर नगएको जवाफ शर्माले दिएको एक सदस्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्