राप्ती हाइड्रोको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो ।

यो कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमा ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सेयर सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ७० हजार ९८८ कित्ता कर्मचारीका लागि छुट्याएको थियो। बाँकी २१ लाख ७६ हजार ९४० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आईपीओमा १४ लाख ९१ हजार ७२२ आवेदकबाट कुल १ करोड ६२ लाख ७६ हजार ६१० कित्ता सेयर माग भएको थियो । जसमा १४ लाख ९० हजार २९८ आवेदकबाट परेको १ करोड ६२ लाख ५९ हजार २४० कित्ता सेयर सदर भएको छ भने १ हजार ४२४ आवेदकबाट परेको १७ हजार ३७० कित्ता सेयर रद्द भएको छ ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । जसअनुसार २ लाख २७ हजार ६९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । यो हिसाबले १२ लाख ७२ हजार ६०४ आवेदको हात खाली भएको छ ।

यो आईपीओको अन्तिम नतिजा केही घन्टामा सार्वजनिक हुनेछ । आईपीओको अन्तिम नतिजा आईपीओ निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकको वेबसाइटमा हेर्न सकिनेछ । सीडीएससीको https://iporesult.cdsc.com.np मा पनि अन्तिम नतिजा सार्वजनिक हुनेछ ।


प्रतिक्रिया दिनुहोस्