शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन सभामुखलाई बुझाइयो, मन्त्रालयमा फर्किने सम्भावना कति ?

काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई बुझाएको छ ।

पूर्वअर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दरमा हेरफेर गरेको आरोप लागेको थियो । उक्त विषय सम्बन्धमा छानबिन गर्न प्रतिनिधिसभाबाट गत असार २२ गते गठित विशेष समितिले तयार पारेको प्रतिवेदनको निष्कर्ष करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निकालेको छ । छानबिनको प्रतिवेदनको निष्कर्षसँगै शर्माको अर्थ मन्त्रालयमा फर्किने सम्भावना उच्च भएको छ ।

प्रतिवेदनमा ‘समितिले गरेको अर्थ मन्त्रालयको पदाधिकारी, अर्थमन्त्रीबाट प्राप्त गरेको कागजात, सीसीटीभी फुटेजलगायतको प्रमाणका आधारमा करका दर निर्धारणमा अनधिकृत प्रवेश नदेखिको’ भनिएको छ । प्रतिवेदनमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको विषयपछि अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सान्दर्भिक नरहेको उल्लेख छ ।

छानबिन समितिले क्लिन चिट दिएसँगै शर्मा अर्थ मन्त्रालय फर्किने सम्भावना प्रबल भएको छ । अर्थमन्त्री शर्माले असार २२ मा अर्थमन्त्रीबाट राजीनामा दिएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले नै अर्थ मन्त्रालय समाल्दै आएका छन् ।

राजीनामा दिएको झन्डै एक महिना बित्दा पनि देउवा आफैँले नै अर्थ मन्त्रालय सम्हालेकाले उनको पनि अर्थ मन्त्रालयको जिम्मेवारी शर्मालाई नै दिने मनसाय रहेको बुझिन्छ ।


प्रतिक्रिया दिनुहोस्