साफ यु–२० : माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा, टुंगियो नेपालको यात्रा

काठमाडौं । भारतमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलमा भारतले लिग चरणको अन्तिम खेलमा माल्दिभ्समाथि १-०गोलको जित निकालेपछि फाइनल प्रवेश गरेको छ । साबिक च्याम्पियन भारतले निर्णायक खेलमा माल्दिभ्समाथि १–० को निकै संघर्षपूर्ण जित निकाल्दै फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो ।

लिग चरणमा दोस्रो टिम बनेर फाइनल प्रवेशका लागि भारतलाई आजको खेलमा माल्दिभ्सविरुद्ध कम्तीमा बराबरी नतिजा आवश्यक थियो । तर, उसले स्पष्ट जित नै निकालेर उपाधि नजिक पुगेको हो । यदि भारत माल्दिभ्ससँग पराजित भएको भए नेपाल दोस्रो टिम बनेर फाइनल पुग्ने समीकरण थियो । तर, भारतले आफ्नो खेल जित्दा नेपालको फाइनल खेल्ने सपना भने खरानी बन्यो ।

नेपालले हिजै भएको आफ्नो खेलमा बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल पुग्ने सम्भावना जीवित नै राखेको थियो । नेपालका लागि फाइनल पुग्न भारतको हार अनिवार्य थियो । तर, भारतले जित्दा नेपालको यात्रा समाप्त भएको छ भने फाइनलमा बंगलादेश र भारतको भेट पक्का भएको छ । आजको निर्णायक खेलमा भारतले खेलको अन्तिम समय ९०औं मिनेटमा गोल गर्दै खेल १–० ले जित्यो ।

अब उपाधिका लागि साबिक च्याम्पियन भारतले बंगलादेशको सामना गर्नेछ । यसअघि आफ्नो पहिलो खेलमै भारत बंगलादेशसँग पराजित भइसकेको छ । उनीहरूले फाइनलमा फेरि उपाधिका लागि भिड्ने भएका छन् । भारतले सुरुआती दुवै खेल जितेको नेपाललाई ८–० को फराकिलो अन्तरमा हराएपछि नै फाइनल पुग्ने आधार तयार पारेको थियो । नेपालका लागि भने त्यही हार नै प्रतियोगिताबाट आउट हुनुपर्ने कारण बन्यो ।


प्रतिक्रिया दिनुहोस्