देशभरका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह

काठमाडौं । सरकारले देशभर रहेका सबै मिटरब्याज पीडितहरुलाई उजुरी गर्न आग्रह गरेको छ ।

सरकारले गठन गरेको ‘मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल’ले शनिवार एक सूचना प्रकाशन गर्दै एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरेको छ ।

कार्यदलका संयोजक रहेका गृहमन्त्रालयका सहसचिव डा. भिष्मकुमार भुसालले एक सूचना प्रकाशन गर्दै मिटरव्याज पीडितलाई तथ्य प्रमाण सहित अगामी भदौ ५ गतेसम्म उजुरी गर्न आग्रह गर्दै सरकारले कार्यदल गठन गरेको एकघण्टा भित्रै काम प्रारम्भ गरेको जानकारी गराएका छन् ।

कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएका मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा कार्यदलले वार्ता गरेको भुसालले जनाएका छन् ।

मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भएको थियो ।


प्रतिक्रिया दिनुहोस्