आउँदो चुनावमा एमालेले बहुमत ल्याउँछ:पोखरेल


काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आफ्नो पार्टीेले बहुमत ल्याउने दाबी गरेका छन् । पालिका चुनावमा सर्वाधिक जनताको लोकप्रिय मत पाएकाले एमालेले आउँदो चुनावमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो ।

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज सोमवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उम्मेदवार तय गर्दा व्यवस्थापकीय कमजोरी भएका कारण पालिका चुनावमा आफ्नो पार्टी पहिलो शक्ति बन्न नसकेको उल्लेख गर्दै अब हुने चुनावमा त्यस्तो गल्ती नगर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । जित्ने र टिक्नेहरूलाई मात्रै पार्टीले आउँदो चुनावमा उम्मेदवार बनाउने वरिष्ठ उपाध्यक्ष पोखरेलले बताए ।

उनले भने,‘आउने चुनावमा एमालेले बहुमतका साथ प्रतिनिधि सभामा पनि आफ्नो प्रतिनिधित्व गर्छ । पालिका चुनावमा हामीले जनताको सर्वाधिक लोकप्रिय मत प्राप्त गर्‍यौँ । यो हाम्रो दावी मात्रै होइन, निर्वाचन आयोगको बुलेटिनमा उल्लेख गरिएको कुरा हो । पालिका चुनावमा उम्मेदवारी दिने सन्दर्भमा व्यवस्थापकीय कमजोरी भएकाले हामीले सोचेजस्तो परिणाम ल्याउन नसकेको हो । अब हामी आउने चुनावमा समयमै उम्मेदवारी दिन्छौँ । जित्नेलाई उठाउँछौँ, टिक्नेलाई उठाउँछौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले भदौको अन्तिमसम्ममा आफ्नो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको उम्मेदवारसमेत तय गरिसक्ने बताए । त्यसका लागि मापदण्ड तय गर्न स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक भदौँ दोस्रो हप्ताका लागि तय गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारूढ गठबन्धनमा आबद्ध कुनै पनि दलसँग चुनावमा मोर्चाबन्दी हुने सम्भावना नरहेको दोहोर्‍याए ।


प्रतिक्रिया दिनुहोस्