पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने

ताप्लेजुङ । ताप्लेजुङमा पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने भएको छ । जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले आगामी असोज ११ गतेबाट १३ गतेसम्म तीन दिनसम्म म्याराथन तथा महोत्सव सञ्चालन हुने भएको हो ।

जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचार प्रसार तथा पर्यटकीय स्थानहरुको पहिचानको लागि पनि महोत्सवको अयोजना गरिएको हो ।

वि.स. २०६३ सालदेखि सञ्चालन भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव कोरोनाका कारण २ वर्षसम्म हुन सकेको थिएन । यो महोत्सवमा खुल्ला म्याराथन तोक्मेबाट सुरु भइ ३ हजार ७ सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङ स्थित तोक्मेमा आएर पूरा हुने गरेको छ ।

यस्तै महिला हाफ म्याराथन भने तोक्मेडाँडाबाट सुरु भइ काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङ स्थित तोक्मेमा आएर पूरा हुन्छ । यस म्याराथन तथा पर्यटन महोत्सवमा विभिन्न कार्यक्रम गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्