काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर उठाउन कम्तीमा १० दिन लाग्ने, १८ पालिकामा ८ हजार टिपर फोहर व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा थुप्रिएको सबै फोहर उठाउन कम्तीमा १० दिनजती लाग्ने भएको छ ।

फोहोर फाल्ने क्षेत्र सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि दुई महिनादेखि व्यवस्थापन हुन नसकेको फोहोर उठ्न कम्तीमा एकसाता बढी लाग्ने भएको हो ।

अहिलेको काठमाडौंको विभिन्न चोक, गल्लीमा फोहर थुपारेर राखिएको छ । सोही फोहोर उठाउनको काम क्रमशः शुरु भएको र कुनै अवरोध नभए आउँदो १० दिनमा सबै फोहर व्यवस्थापन हुने कामपाका प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले जानकारी दिए ।

काठमाडौं उपत्यकाको १८ पालिकामा आठ हजार टिपर फोहर व्यवस्थापन गर्नुपर्ने छ । फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चार बुँदे सहमतिपछि बिहीबारदेखि साविक बमोजिम फोहर व्यवस्थापन हुन थालेको हो ।

पछिल्लो सम्झौताअनुसार फोहरको गाडीबाट लिच्चड चुहाउन पाइने छैन । तर, कामपासँग अहिले लिच्चड ट्याङ्क भएको ७५ वटा मात्र टिपर छन् । ती टिपरले दैनिक दुई टिप गर्नेछन् भने एक सय ५० वटा लिच्चड ट्याङ्क भएका टिपर भाडामा लिएर प्रयोग गर्ने तयारी रहेको सचिवालय सदस्य लम्सालले बताए ।


प्रतिक्रिया दिनुहोस्