मंसिर ४ मा हुने चुनावमा ८७ दलले भाग लिने, चुनाव चिह्न ७९

काठमाडौं । निर्वाचन आयोगका अनुसार ४ मंसिरमा हुने प्रतिनिधिसभाको चुनावमा ८७ दलले भाग लिने भएका छन् । चुनावी प्रयोजनका लागि दल दर्ताको निवेदन दिएकामध्ये ८७ दलको दल दर्ता भएको छ । तर, संयुक्त चुनाव लड्ने चार वटा समूह रहेकाले मतपत्रमा भने ७९ चुनाव चिह्न रहनेछ ।

प्रदेशतर्फ भने ७५ वटा दल मात्रै सहभागी हुने भएका छन् । आयोगको सूचना अनुसार वाग्मती प्रदेशसभा चुनावमा ७२ दलले भाग लिनेछन् । प्रदेश १ मा ७०, गण्डकीमा ६६, लुम्बिनीमा ६८, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६४र६४ दल सहभागी हुने छन् । प्रदेशतर्फ पनि संयुक्त समूहमा सहभागी हुने दलको संख्या ४/४ वटा रहेको आयोगका प्रवक्ता शालिग्रामले जानकारी दिए ।

यस्तै, मतपत्रमा कसको चुनाव चिह्न कहाँ रहने पनि टुंगो लागेको छ । चुनाव चिह्नको रोलक्रम २०७४ को निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा हुनेछ । ०७४ मा सबैभन्दा बढी मत एमालेले समानुपातिकतर्फ पाएकाले प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न नै पहिलो नम्बरमा रहनेछ ।

आयोगको यो निर्णयअनुसार मतपत्रको दोस्रो नम्बरमा कांग्रेस, तेस्रो नम्बरमा माओवादी केन्द्रको चुनाव चिह्न रहनेछ । समानुपातिकतर्फ सहभागी नभएका दलहरुको हकमा प्रतिनिधि सभारप्रदेश सभा सदस्य निर्वाचन– २०७९ का लागि दल दर्ता भएको क्रमका आधारमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्