आज बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसी

काठमाडौं । आज बुबाको मुख हेर्ने दिन । अर्थात् कुशे औंसी । यस दिन काटेको कुस वर्षैभरलाई पूजा गर्न मिल्छ । त्यसैगरी बुबाको मुख हेर्ने दिन । सधै सम्मानित बुबालाई आज विशेष सम्मान गर्ने दिन ।

आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने चलन छ । यस दिन बुवाको मुख हेर्ने अर्थात् बुवा दिवसको रूपमा मनाइ बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमै गर्ने हुँदा अमावस्याका दिनमै ती दुवै दिवसहरू मान्ने गरिआएको हो ।

संस्कृतिविद्हरुका अनुसार छोराछोरी आमाबाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोराछोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो ।

बुबाको मुख हेर्ने चलन वैद्धिक कालदेखि नै चलिआएको हो । किनभने यसमा पितृ पक्षको पनि महत्व छ । आजको दिनलाई कुशे औंसी र गोकर्ण औंशी भन्ने पनि चलन छ ।

यस दिनमा विशेषगरी बुबा हुनेहरुले जीवित रुपमा नै मुख हेर्ने गर्छन् । तर बुबा नहुनेहरु पवित्र स्थल त्रिवेणी अर्थात् दुई नदीको संगममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ ।

ठूलालाई आदर सम्मान र सानोलाई माया र स्नेह दिने संस्कृति छ । त्यही अनुरुप बुबा जसले आफ्लाई धर्तीमा ल्याउनुभयो उहाँका लागि हरेक दिन खास छ । तर पनि आजको विशेष दिन भनेर छुट्याइएको छ ।


प्रतिक्रिया दिनुहोस्