प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि मतदाता नामावली अद्यावधिक

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आज सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

नामावलीमा रहेका त्रुटि सच्याउन, नामावलीमा प्रकाशित व्यक्तिको विवरणको विरोधमा उजुरी दिन साथै मतदाताको एकभन्दा बढी ठाउँमा नाम समावेश भएमा नाम सच्याउनका लागि भोलिदेखि आउँदो बुधवारसम्मको समय तोकिएको छ । यस्तै, ज्यान गुमाएका र नागरिकता त्यागेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन भोलिदेखि बिहीवारभित्र निवेदन दिइसक्नु पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

मतदाता नामावली अद्यावधिक भएपछि आउँदो ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । यसअघि चुनावमा ज्यान गुमाएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो ।

सरकारले गएको साउन १९ गते चुनावको मिति घोषणा गरेसँगै आयोगले साउन २० गतेदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको थियो । चुनावको अघिल्लो दिन १८ वर्ष पूरा भएकाले चुनावमा मतदान गर्न पाउने छन् । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ।


उज्यालो


प्रतिक्रिया दिनुहोस्