कांग्रेसले वर्तमान परिस्थिति नबुझे र शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका छन् ।

कांग्रेसका शेखर कोइराला पक्षले गठबन्धनमा रहेका अन्य दलहरूलाई प्रतिनिधिसभामा ६५ सिटभन्दा बढी दिन नसकिने भनिरहेका बेला दाहालले त्यस्तो परिस्थितिमा वामपन्थी दलहरूको गठबन्धन बन्ने बताएका हुन् ।

माओवादीको वाग्मती प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतबार ललितपुरको सानेपामा सम्बोधन गर्दै दाहालले सकेसम्म आगामी चुनावमा सत्ता गठबन्धन कायमै रहने बताए थिए ।

कांग्रेसभित्र विभिन्न विचार आइरहेको कुरा उल्लेख गर्दै दाहालले त्यस्तो परिस्थितिमा के गर्ने भन्ने विकल्पबारे पनि सोच्नुपर्ने बताएको केन्द्रीय सदस्य अनिल शर्माले उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस्