माओवादीद्वारा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नाम सिफारिस

ताप्लेजुङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्र ताप्लेजुङले आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

मंगलबार पार्टी कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले प्रतिनिधि सभा सदस्यतर्फ खेलप्रसाद बुढाक्षेत्री, मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोको नाम सिफारिस गरिएको जानकारी दिए । यस्तै प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र १ ‘क’ मा खेलप्रसाद बुढाक्षेत्रीलाई नै सिफारिस गरिएको छ भने बमबहादुर भट्टराई (तारा) को नाम पनि सिफारिस गरिएको छ ।

निर्वाचन क्षेत्र १ ‘ख’ मा मिङ्माडण्डु शेर्पा र लक्ष्मीप्रसाद अन्छङ्बोकै नाम सिफारिस गरिएको जिल्ला संयोजक लिम्बूले जानकारी दिए । उनका अनुसार मङ्गलबार बिहान बसेको जिल्लास्थित पदाधिकारीहरुको बैठकमार्फत प्रत्यक्षतर्फ सङ्घ र प्रदेश दुवैतर्फ सम्भावित उम्मेदवारका रुपमा उनीहरुको नाम सिफारिस गर्ने निर्णय भएको हो ।

यता गठबन्धनको निर्णय आइनसकेकाले एउटै व्यक्तिको नाम दुवैतिर अर्थात प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि सिफारिस गर्नुपरेको माओवादीले जनाएको छ । पार्टी गठबन्धनमार्फत निर्वाचनमा सहभागी हुने भएकाले माओवादीको भाग परेको क्षेत्रमा नाम सिफारिस भएकामध्येबाटै उम्मेदवार हुने माओवादी केन्द्रले जनाएको छ ।

नाम सिफारिस हुनेहरुमा बुढाक्षेत्री केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज हुन भने शेर्पा प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज, अन्छङ्बो प्रदेश सचिवालय सदस्य र भट्टराई प्रदेश समितिका सदस्य रहेका छन् ।

समानुपातिकतर्फ भने आकाङ्क्षीहरु धेरै जना भएको जिल्ला संयोजक लिम्बूले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभातर्फ तेजसम्सेर भट्टराई (काजी), पर्शुराम कार्की, ठाकुरसिंह लिम्बू, गोमा चुडाल, देउबहादुर इवाराम लगायत रहेका छन् । त्यस्तै प्रदेश सभातर्फ प्रेमकुमार सेलिङ, मनकुमारी मादेन, पर्शुराम थोप्रा, मलिषा यक्सो, विमला लिम्बू, सागर आङ्बुहाङ लगायतको नाम सिफारिस गरिएको जनाइएको छ ।

प्रतिनिधिसभाको एक र प्रदेश सभातर्फ दुईवटा क्षेत्र रहेको ताप्लेजुङमा यसअघि नेकपा (एकीकृत समाजवादी) ले पनि पार्टीका तर्फबाट उम्मेदवार बन्नेको नाम सिफारिस गरिसकेको छ । जिल्लाबाट नेपाली काँग्रेस, नेकपा एमाले लगायतले भने उम्मेदवारको नाम सिफारिस गर्न बाँकी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्