पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँडको सहमति हुन सकेन

काठमाडौं ।  पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू र कार्यदलका सदस्य बीच लगातार छलफल गरे पनि सिट बाँडफाँडमा तत्काल सहमति जुट्ने स्थिति देखिएको छैन ।

मंगलबार पनि दलहरूले बालुवाटारमा सिट बाँडफाँडबारे सहमति गर्न बैठक गरेका थिए । दलहरूले अब पार्टीभित्र आन्तरिक छलफल गरेपछि मात्रै शीर्ष नेतासहित गठबन्धन बैठक बस्ने सहमति भएको छ ।

आफ्नो दाबीबाट दलहरू लचिलो भएर प्रस्तुत नहुँदा जति छलफल गरे पनि सिट बाँडफाँडले गति लिन नसकेको हो । आफ्ना सुरुवाती अडानबाट दलहरू टसमस भएका छैनन् ।

आफूले दाबी गरेको सिटमा केही घट्न दलहरूले पार्टीभित्र आन्तरिक सहमति गरेर गठबन्धनमा प्रस्तुत हुन लागेका छन् ।

नेपाली कांग्रेसले १००, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ प्रतिनिधि सभा क्षेत्र दाबी गरेका छन् । 

यी दलका मागअनुसार सिट बाँडफाँड गर्न निर्वाचन क्षेत्र अपुग हुन्छ । प्रतिनिधि सभा तर्फ प्रत्यक्षमा १६५ क्षेत्र छ भने प्रदेश सभा तर्फ ३३० क्षेत्र छ ।


प्रतिक्रिया दिनुहोस्