सभामुखको पद समाप्त भयो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुखको पद समाप्त भएको बताएका छन् ।

आज प्रेस चौतारी बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सांसद्को आयू सकिएसँगै सभामुखको पद स्वत: समाप्त भएको बताएका हुन् ।

नेता भट्टराईले अब अग्निप्रसाद सापकोटाले पदमा बसिरहनु लज्जाको विषय भएको टिप्पणी गरे । उनले भने, ‘हाम्रो पद जाने, उहाँको पद नजाने कसरी हुन्छ रु म अहिले प्रतिनिधि सभाको सदस्य होइन, अनि उहाँ चाहिं कसरी सभामुख हुन सक्नुहुन्छ ?’

उनले २०४७ सालको संविधानमा सांसद्को आयू सकिए पनि सभामुखको पद रहने व्यवस्था भए पनि वर्तमान संविधानले त्यस्तो व्यवस्था नगरेको दाबी गरे ।

उनले सभामुख सापकोटाले संविधान मिच्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘पद गइसकेको व्यक्तिलाई सभामुखको आसनमा बस्ने कुनै अधिकार छैन ।’

यसै सन्दर्भमा नेता भट्टराईले नागरिकता विधेयकको विषयमा मुलुकलाई विभाजित गर्ने काम भइरहेको बताए ।


प्रतिक्रिया दिनुहोस्