मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि फेरी सिदिङ्वालाई 

ताप्लेजुङ । मेयर कप रनिङ भलिबल प्रतियोगिताको यस वर्षको उपाधि पनि सिदिङ्वा गाउँपालिकाले हात पारेको छ । पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो । 

सिदिङ्वाले पाथीभरा याङ्वरक गाउँपालिकालाई २५–२१,२५–१७, २१–२५ र २५–२१ को स्कोरमा पराजित ग¥यो । सेमिफाइनलमा पाथीभरा याङ्वरक र फुङलिङ नगरपालिका बिच भएको खेलमा पाथीभरा याङ्वरकले जितेको थियो ।

सिदिङ्वाले सिरिजङ्गा गाउँपालिकालाई पराजित गरि फाइनलमा पाथीभरा याङ्वरकसँग भेट गरेको थिए । ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर गत ८ गते देखि जारी प्रतियोगिता आज मंगलबार सकिएको छ । सिदिङ्वाले यस पटक गरी लगातार दोस्रो जीत निकालेको हो । अघिल्लो वर्षको मेयर कप पनि जितेको थियो ।

सिदिङ्वा गाउँपालिकाले नगद २ लाख ७५ हजार १ सय रुपैयाँका साथ रनिङ कप, मेडल प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पाथीभरा याङ्वरक गाउँपालिकाले नगद १ लाख ४० हजार १ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । 

सेमिफाइनलमा पराजित सिरिजङ्गा गाउँपालिका तथा फुङलिङ नगरपालिका प्रत्येकले नगद ४५ हजार १ सय रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको मेयर कप रनिङ भलिबल प्रतियोगिता खेल संयोजक क्षितिज सुनुवारले बताए । 


प्रतिक्रिया दिनुहोस्