फोनिज प्रदेश १ को तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सम्पन्न

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) प्रदेश १ को तेस्रो प्रादेशिक भेला सम्पन्न भएको छ ।

हाल भइरहेका पहिचान र अस्तित्वका मुद्दालाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्नेसहितका १२ बुँदे ताप्लेजुङ घोषणापत्र जारी गर्दै प्रादेशिक भेला ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा बुधबार सम्पन्न भएको हो ।

भेलाद्वारा जारी घोषणापत्रमा पहिचान र ऐतिहासिकताको आधारमा प्रदेश १ को नाम किराँत लिम्बुवान नामाकरण गर्नुपर्ने, विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलमाथि हुँदै आएको अतिक्रमणको अन्त्य हुनुपर्ने, ताप्लेजुङको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने लगायतका विषय समावेश गरिएको छ ।

फोनिज सङ्घीय समितिको तीन महिने सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत मङ्गलबार र बुधबार दुई दिन सञ्चालन भएको प्रादेशिक भेलामा फोनिज १ नम्बर प्रदेश समितिले गर्दै आएको साङ्गठनिक तथा आर्थिक गतिविधिबारे छलफल भएको थियो ।

भेलाको बन्द सत्रमा प्रदेश समितिका अध्यक्ष सन्तबीर लामाद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम देवान याक्खाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रादेशिक भेलाको उद्घाटन मङ्गलबार प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका थिए । उद्घाटन समारोहमा जिल्लास्थित स्थानीय तहका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

उद्घाटनमा लिम्बू, गुरुङ (तमू), राई र शेर्पा समुदायका कलाकारले आफ्नो साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्