राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै विष्णु पौडेललाई चिठ्ठा !

काठमाडौं । रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका राजु गुरूङको उम्मेदवारी खारेज भएसँगै नेकपा एमालेबाट उम्मेदवारी दिएका उपाध्यक्ष विष्णु पौडेललाई चुनाव लड्न सजिलो भएको छ ।

गत वैशाखमा भएको स्थानीय चुनावमा रूपन्देही २ का पालिकाहरूमा वडाध्यक्षले पाएको मत हेर्दा सत्ता गठबन्धन दुई हजारभन्दा बढी मतले अघि देखिन्छ । २३ वडा रहेको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले १६ वडा जितेको थियो । ६ वडामा एमालेले जित्दा एउटामा स्वतन्त्रले जितेका थिए ।

यहाँ नेकपा एमालेबाट वडायक्षका उम्मेदवारहरूले ३३ हजार १ सय ८७ मत ल्याएका थिए भने सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसबाट ३४ हजार ९ सय ५९ मत, माओवादी केन्द्रबाट तीन हजार एक सय ८८, नेकपा एकीकृत समाजवादीले एक हजार तीन सय ८२ मत ल्याएका थिए । यो क्षेत्रमा राप्रपाले तीन हजार नौ सय २० मत ल्याएको थियो ।

राप्रपा, एमाले र जसपा गर्दा यो क्षेत्रमा ३७ हजार दुई सय ९० मत हुन्छ भने सत्ता गठबन्धनको ३९ हजार ६ सय ८३ मत पुग्छ । दुई हजार तीन सय ९३ मतान्तर भएको यो क्षेत्रमा सत्ता गठबन्धन उम्मेदवारविहीन हुने भएको छ । सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका गुरूङले यहाँ टिकट पाएका थिए ।

अदालतले बैंकिङ कसुरमा गुरूङलाई जरिवाना गरेकाले उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै आयोगले उम्मेदवारी खारेज गरिदिएको हो । विगतमा गुरूङको फर्मका ८ वटा चेक बाउन्स भएको थियो । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार बेलुकी निकालेको विज्ञप्तिमा गुरूङको मनोनयन खारेज हुने गरी निर्णय भएको उल्लेख गरेका थिए ।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका विष्णु पौडेल शेयर लगानीकर्ता माझ परिचित छन् । ओली नै प्रधानमन्त्री हुँदा अर्थमन्त्री रहेका डा। युवराज खतिवडाको समयमा नेप्सेले गति लिन सकेन भने उनी अर्थमन्त्रीमा नियुक्ति हुनासाथै शेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो ।

नेप्सेले अहिलेसम्म ३१९८ विन्दुसम्म छोएको छ । विष्णु पौडेलले नै अर्थमन्त्री हुँदा नेप्सेको अघिल्लो उच्च विन्दु १८८० छोएको थियो । उनी अर्थमन्त्री हुँदा नै दुइपटक नेप्सेले उच्च विन्दु हासिल गरेकाले शेयर बजार मैत्री अर्थमन्त्रीको रुपमा उनी शेयर लगानीकर्ता माझ परिचित छन् ।


प्रतिक्रिया दिनुहोस्