नक्कली ड्राइभिङ लाइसेन्स परीक्षण गर्ने १९८ थान स्मार्ट कार्ड प्रहरीलाई हस्तान्तरण

काठमाडौं । अबदेखि नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ् लाइसेन्स) बोक्ने कारवाहीमा पर्ने भएका छन् ।

यातायात व्यवस्था विभागको कार्यालयले औँठा छापसहितको स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । विभागले आज एक कार्यक्रमकाबीच स्मार्ट लाइसेन्सको परीक्षण उपकरण नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

हाल ट्राफिक प्रहरीको नियमित जाँचका क्रममा नक्कली लाइसेन्स बोक्ने तथा साथीभाइको लाइसेन्सलाई देखाएर हिँड्ने गरेका छन् । यस उपकरणले तत्कालै सो लाइसेन्स कसको हो भन्ने सहजै थाहा पाउन सकिन्छ ।

उपकरणले सवारी चलाउने चालकले बोकेको अनुमतिपत्र चालक स्वयंकै हो वा होइन भन्ने तत्कालै परीक्षण गर्न सकिन्छ । साथै, उक्त उपकरणमा औँठा छापको परीक्षण समेतको व्यवस्था छ ।

यो उपकरणले प्रहरीलाई सवारी चालक अनुमतिपत्र सक्कली वा नक्कली परीक्षण गर्न सघाउनेछ । नक्कली लाइसेन्सको बिगबिगी तथा यसले निम्त्याउने विभिन्न किसिमका दुर्घटनाको न्यूनीकरणका लागि समेत सघाउ पुग्ने बताइएको छ ।

विभागका महानिर्देशक टोकराज पाण्डेयले नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रतिनिधि प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीलाई १९८ थान स्मार्ट कार्ड रिडर उपकरण हस्तान्तरण गरेका हुन् । यसअघि पनि यातायात व्यवस्था कार्यालयले ४० वटा स्मार्ट कार्ड रिडर उपकरण ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको थियो ।

विभागले हालसम्म २९ लाख ५० हजार स्मार्टकार्ड लाइसेन्स वितरण गरिसकेको छ । यी सबै लाइसेन्स परीक्षण गर्न मिल्ने उक्त उपकरण सातै प्रदेशमा उपलब्ध गराउने गरी नेपाल प्रहरीलाई वितरण गरिएको पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस्