लेवानडोस्की चम्किँदा बार्सिलोनाको सानदार जित 

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । आज बिहान भएको सिजनको १०औं खेलमा बार्सिलोनाले लिगको अर्को बलियो टोली भिल्लारियलमाथि ३–० को एकपक्षीय र प्रभावशाली जित निकालेको हो । 

बार्सिलोनाको आफ्नो घरेलु मैदान क्याम्प नोउ रङ्गशालामा भएको खेलमा आफ्नो टिम जिताउन स्टार खेलाडी रोवर्ट लेवानडोस्की नायक बने । पछिल्ला २ खेलमा गोलविहीन बनेका उनले आजको खेलमा २ शानदार गोल गरेर टिमको उत्कृष्ट जितमा मदत गरेका हुन् । 

बार्सिलोनााका लागि ३४ वर्षका पोलिस फरवार्डले खेल सुरु भएको ४ मिनेटको बीचमा २ गोल गरेका थिए । उनले खेलको ३१औं मिनेटमा पहिलो गोल गरे । यस खेलमा लेवानडोस्कीले पाएको पहिलो अवसरमै गोल गरेर राम्रो सुरुआत गरेका थिए । त्यसपछि उनले ४ मिनेटमै व्यक्तिगत दोस्रो गोल पनि गरे । 

बार्सिलोनाले ८ मिनेटकै बीचमै ३ गोल गरेको थियो । लेवानडोस्कीका २ गोलपछि अर्को १ गोल युवा खेलाडी अन्सु फातीले गरेका थिए । यो जितपछि बार्सिलोना १० खेलपछि २५ अङ्क जोडेर दोस्रो स्थानमा यथावत छ । 

उसले लिग लिडर रियल मड्रिडसँगको दूरी ३ मा छोट्याएको छ । रियलको २८ अङ्क छ । बार्सिलोना यसअघिको खेलमा रियलसँगको इएल क्लासिको खेलमा ३–१ ले पराजित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्