आज काग तिहार : कागलाई यमराजको प्रिय भक्तको रुपमा लिइन्छ !

काठमाडौं । नेपालीहरूको महान पर्व शुभ दिपावली अर्थात यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरेर मनाइदैछ । यमराजको दूतको रुपमा हेरिने कागलाई आजको दिन पूजा गर्ने र मिठो मिठो खाने कुरा दिएर पूजा गर्ने चलन रहेको छ ।

कागलाई यमराजको प्रिय भक्तको रुपमा लिइन्छ । साथै कागलाई अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । यमपञ्चकको पहिलो दिन कागलाई पूजा गरेमा कागले वर्षभरी आफ्नो घरमा अशुभ समाचार लिएर नआउने जनविश्वास रहेको छ । 

यसर्थ पनि आजको दिन मानिसहरू बिहानैदेखि कागको पूजा गर्छन् । नेपाली समाजमा घर वरिपरि काग आएर कराएमा कागले केही समाचार लिएर आएको भन्ने सोच राख्दछन् । कागको आवाज अनुसार शुभ अशुभ अथवा पाहुना आएको सङ्केतको रुपमा लिने गरिन्छ । यसरी काग प्रति हेरिने दृष्टिकोणकै कारण आजको दिन कागको पुजा गरिन्छ ।

हिन्दु धर्म अनुसार यमलोकको अधिपति यमराजले पृथ्वी लोकका मानिसहरूको मृत्युको विवरण राख्छन् । उक्त विवरण पृथ्वीलोकमा पुर्याउनका लागि दूतको रुपमा कागले काम गर्ने धार्मिक मान्यता रहेको छ । तसर्थ काग तिहारको दिन कागलाई मिठो मिठो खाने कुरा दिएमा सो घरमा वर्षभरी अशुभ समाचार लिएर जाँदैन भन्ने मान्यता रहिआएको छ ।

आजको दिन कागको लागि दुना टपरीमा विभिन्न खानेकुरा राखेर घर वरिपरि राखिन्छ । साथै कागलाई बोलाएर पनि खुवाइन्छ । काग तिहारको दिन कागको पूजा नगरेमा पाप भोग्नुपर्ने समेत मान्यता रहेको छ ।


प्रतिक्रिया दिनुहोस्