छठ पर्व : अस्ताउँदो सूर्यको पूजा गर्दै मनाइँदै

काठमाडौं । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वमा सूर्यदेवको आराधना, उपासना हुने गर्दछ । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार, द्रौपदी सहित पाँच पाण्डवले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराण अनुसार, सर्वप्रथम अत्रि मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही वेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरूआत भएको धार्मिक विश्वास छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधि विधान रहेको छ ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरूप ग्रहण गरेको छ ।

छठ पर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरी लगायत बागमती, नख्खु र विष्णुमती लगायत नदी किनारमा सजावट गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्