विश्वकपको उपाधि अर्जेन्टिनालाई, मेस्सी बने विश्वकपको इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी

एजेन्सी । अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ गोल अन्तरले पराजित अर्जेन्टिनाले विश्वकपको उपाधि जितेको हो ।

अर्जेन्टिनाले १९८६ पछि ३६ बर्षपछि पहिलो पटक विश्वकपको उपाधि जितेको छ । यो अर्जेन्टिनाले जितेको तेस्रो विश्वकपको उपाधि हो । अर्जेन्टिनाले यसअघि १९७८, १९८६ मा विश्वकप जितेको थियो । १९८६ पछि अर्जेन्टिना १९९० र २०१४ विश्वकपको फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन ।

९० मिनेटपछिको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । किलीयन एम्बाप्पेले विश्वकप फाइनलमा ह्याट्रिक गरेपछि फ्रान्सले खेलमा फेरी कमब्याक गर्दै खेल ३-३ गोलको बराबरी गरेको थियो ।

एम्बाप्पेले खेलको ११८औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । यसअघि लियोनेल मेसीको गोलमा अर्जेन्टिनाले ३-२ गोलको अग्रता हासिल गरेको थियो ।

मेसीले खेलको अतिरिक्त समयको १०८औ मिनेटमा गोल गरेका थिए । मेसीले यस विश्वकपमा कुल ७ गोल गरेका छन् । यसअघि विश्वकप फुटबलमा निर्धारित ९० मिनेटको खेलमा फ्रान्स र अर्जेन्टिना २-२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो ।

फ्रान्सका किलियन एम्बाप्पेले खेको ८० र ८१औं मिनेटमा गोल गर्दै अर्जेन्टिनासँग २(२ गोलको बराबरी गरेका थिए । यसअघि पहिलो हाफमा लियोनेल मेसी र एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले २(० गोलको अग्रता लिएको थियो ।

मेसीको किर्तिमान
लियोनेल मेसी फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन् । फ्रान्सविरुद्ध विश्वकपको फाइनल खेल खेलेर मेसीले विश्वकपमा आफ्नो २६औं खेल खेल्दै यस्तो किर्तिमान बनाएका हुन् । मेसीले जर्मनीका लोथार मथासको विश्वकपमा २५ खेलको किर्तिमान तोडेका हुन् ।

मेसीले २००६, २०१०, २०१४, २०१८ र २०२२ विश्वकपमा गरी कुल २६ खेल खेलेका हुन् । त्यस्तै विश्वकपमा धेरै खेल खेल्ने खेलाडीको सूचीमा जर्मनीकै मिरोस्लाभ क्लोज २४ खेलसहित तेस्रो स्थानमा छन् भने इटालीका पाओलो माल्दिनी २३ खेलसहित चौथो, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो २२ खेलसहित पाँचौं स्थानमा रहेका छन् । रोनाल्डोले पनि २००६, २०१०, २०१४, २०१८ र २०२२ गरी पाँच विश्वकप खेलेका छन् ।


प्रतिक्रिया दिनुहोस्