मुल्य नपाउँदा अलैँची कृषक चिन्तित

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला नेपालको सबै भन्दा बढि अलैंची उत्पादन हुने जिल्ला हो । यहाँ कुल क्षेत्रफलको ४ हजार तिन सय हेक्टर क्षेक्रफल अलैँची उत्पादनका लागि उपयुक्त रहेको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार जसमध्ये ४ हजार दुई सय पचास हेक्टर क्षेत्रफलमा विशेष गरि अलैँची उत्पादन हुन्छ ।

ताप्लेजुङमा गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्ला भर २ हजार सात सय ६२ दशमलब पाँच शुन्य मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाएको छ । जुन शुन्य दशमलब ६५ प्रतिहेक्टर हुन आउँछ । गत आर्थिक वर्षको अलैँची उत्पादन आर्थिक वर्ष २०७७÷७८ को भन्दा दुई सय अठार दशमलब एक मेट्रिक टनले कमि हो । जिल्लाको मुख्य नगदेबालीका रुपमा रहेको अलैँचीले उचित बजार मुल्य नपाउँदा एकातर्फ उत्पादन घट्दै गएको छ भने अर्कातर्फ अलैँची कृषकहरु चिन्तित भएका छन् ।


अलैँची खेतीलाई मुख्य पेशा बनाएर लागि रहेकी फत्ताङलुङ गाउँपालिका ६ लेलेपकी पेम्बाफुटि शेर्पाले भाउ नपाएर अलैँची थन्काई राखेकी छिन् । अलैँचीबाट नै जिविकोपार्जन गरिरहेकी उनलाई अलैँचीले बजार भाउ नपाउँदा छोरा छोरीको पढाई साथै घर खर्च चलाउन गाह्रो भएको उनको गुनासो छ । साथै अलैँचीमा विभिन्न प्रकारका किरा लागेर बोट मर्न थालेकोले शेर्पा चिन्ता व्यक्त गर्छिन ।

सोही गाउँपालिका ४ नं. वडा ईखाबुका सुर्य लिम्बु यस क्षेत्रका मानिसले मुख्य पेशाका रुपमा अलैँची खेतीमा संलग्न रहेता पनि सरकारबाट भने लगानी अनुसारको भाउ नपाउँदा अलैंँची कृषक पिडित भएको बताउँछन् ।
सोही ठाउँका कुमार लिम्बु किसानले उत्पादन गरेको अलैँची भुस बराबर भएकोले सरकारले उचित भाउ तोकिदिन आग्रह गर्छन । साथै अलैँचीमा रोग लागेको १० वर्ष वित्दा पनि यसतर्फ ध्यान नगएकोले ध्यान दिन साथै उन्नत जातको विरुवा वितरण गरिदिए किसानहरुलाई राहत हुने बताउँछन् ।

वडा नं. ५ हेल्लोकका जिवन कोईबा लिम्बु अलैँचीको बजार मुल्यले उत्पादन कार्यमा लगाएका खेतालाको शुल्क तिर्नपनि नपुगेको भन्दै सरकारले उचित मुल्य तोकिदिन आग्रह गर्छन ।
त्यस्तै मेरिङदेन गाउँपालिका वडा नं. २ सान्थाक्राका दावा ओङजु शेर्पा कुन ठाउँमा कस्तो विरुवा लाउनु पर्ने भन्ने कुराको बारे जानकारी पाए साथै सिँचाईको सुविधा स्थानीय सरकारबाट उपलब्ध भए सहज हुने बताउँछन् । जसोतसो उत्पादित अलैँचीले उचित भाउ नपाउँदा कुषकमा निराशा छाएको उनको गुनासो छ ।
फुङलिङ नगरपालिका वडा नम्बर ३ आम्बोटेका अलैँची कृषक अमर लुहारको गुनासो पनि उस्तै छ । कृषकको मिहेनत र लगानी उठनुको साटो घाटा भईरहेकोले यसतर्फ सरकारको ध्यानदिन आवश्यक रहेको उनको भनाई छ ।


एक समय एक मन (४० केजी) अलैँची एक लाख २० हजार सम्ममा किनबेच भएको थियो केहिवर्ष यता मुल्यमा निरन्तर गिरावट आएर हाल २३ हजारमा विकी्र भईरहेको छ । देशमै सबै भन्दा बढि अलैँची उत्पादन हुने जिल्लाको रुपमा रहेको ताप्लेजुङ जिल्लाका अलैँची कृषक एति बेला अलैँचीमा लागेका विभिन्न रोग र उचित मुल्य नपाउँदा चिन्तित भएका छन् । यसतर्फ स्थानिय सरकारसँगै सरोकारवाला निकायले ध्यान दिँदै किसानको समस्या समाधान गर्नतर्फ लाग्नु आवश्यक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्