चिसोले ताप्लेजुङको जनजीवन कष्टकर

ताप्लेजुङ । चिसो बढेपछि जिल्लाको हिमाली क्षेत्रका बस्तीको जनजीवन प्रभावित भएको छ। घाम नलाग्ने, बाक्लो हुस्सु र चिसो हावासँगै बाक्लो तुषारो पर्न थालेपछि हिमाली क्षेत्रका बस्तीको जनजीवन कष्टकर बनेको छ ।

असामान्यरूपमा चिसो बढेपछि हिमाली बस्तीका सर्वसाधारणलाई अहिले दैनन्दिन चलाउन निकै मुस्किल परेको स्थानीयवासी बताउँछन्। समुद्र सतहबाट तीन हजारभन्दा माथिका हिमाली बस्तीमा चिसोले बढी सताएको छ ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको ग्याब्ला, फले, घुन्सा, वडा नं. ७, ओलाङ्चुङगोला, ओलाङ्चुङगोलाकै याङ्मालगायतका हिमाली बस्तीको जनजीवन चिसोले कष्टकर बनाउँदै लगेको छ । याङ्मा चार हजार २०० मिटर उचाइमा रहेको जिल्लाकै उच्च हिमाली बस्ती पनि हो ।

बस्तीका कतिपय परिवार यसअघि नै चिसो छल्न बस्ती छाडेर न्यानो ठाउँ तथा सहरतिर गएका छन् । यतिबेला गाउँमै बस्दै आएका परिवार भने चिसोका कारण कष्टकर जीवन बिताइरहेका छन् । पछिल्लो केही सातायता निकै चिसो बढेको फक्ताङ्लुङ गाउँपालिका–६ घुन्साका केल्साङ शेर्पाले बताए। चिसोका कारण अधिकांश समय न्यानो लुगा लगाएर साथै आगो तापेर घरभित्रै बस्नुपर्ने अवस्था रहेको उनले बताए ।

केही दिनयता निकै चिसो बढेको र बढ्दो चिसोले दैनिकी चलाउन समस्या भइरहेको सोही गाउँका टाँसी तेन्जिङले शेर्पाले बताए । हिउँ पर्न नसक्दा र बाक्लो हुस्सु लाग्दा तथा तुसारो मात्र पर्नाले चिसो निकै बढेको उनको भनाइ छ । चिसोकै कारण मिक्वाखोला गाउँपालिका–५, पापुङको तोक्पेगोला बस्ती रित्तो भएको छ ।

गत मंसिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा चिसो छल्न शहरबजारतिर झरेपछि अहिले बस्ती खाली भएको पापुङका वडाध्यक्ष ग्यान्जे लामा शेर्पाले जानकारी दिए । वडाध्यक्ष शेर्पाका अनुसार चिसोको अवधि अर्थात् हिउँद मौसमभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ ।

सदरमुकाम फुङ्लिङ बजारमा पनि निकै चिसो बढेको छ । केही दिनयता बढेको चिसोका कारण बजार तथा सार्वजनिक स्थलमा चहलपहल पनि ह्वात्तै घटेको छ । मानिसको चहलपहल घटेपछि फुङ्लिङ बजारमा व्यापार व्यवसाय सुस्ताउँदै गएको स्थानीय व्यवसायी बताउँछन् ।

केही दिनयता मौसम निरन्तर धुम्मिएको र चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान कार्यालय धरान ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्