सुकुटे पुगेका प्रचण्डलाई ओलीले सिँधै बालुवाटार झिकाए, पार्टी एकताका लागि हुँदैछ यस्तो

काठमाडौं / नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताका विषयमा निर्णायक छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आरामका लागि भोटेकोसी किनारको ‘सुकुटे विच’ रिर्सोट पुगेका प्रचण्ड त्यहाँबाट सिधै बालुवाटार गएका हुन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रचण्डले ‘वान टू वान’ वार्ता गर्नेछन् । आउँदो वैशाख ९ मा पार्टी एकताको तयारी गरेका दुई अध्यक्षबीच आज निर्णायक वार्ता हुने बताइएको छ ।

यसअघि घोषणा गरेअनुसार पार्टी एकताको दिन नजिकिँदै जाँदा दुई पार्टीका शीर्ष नेतृत्वलाई दबाब बढेको छ । पछिल्लो समयको संवादहीनताले एकता प्रक्रिया कठिन हुँदै गएको छ । माओवादी ‘जनयुद्ध’को सम्बोधन, चुनाव चिह्न, एकीकृत कमिटीमा दुई पार्टीबाट रहने सदस्य संख्याको अनुपातमा कुरा नमिलेपछि एकता अप्ठ्यारो मोडमा पुगेको हो ।

एमाले नेताहरू कम्युनिष्ट पार्टीको जन्मदिन वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता घोषणा हुने कुरामा ढुक्क छन् । माओवादी नेताहरूले भने वैशाख ९ गते नै एकता हुन कठिन रहेको धारणा राख्दै आएका छन् । प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्केपछि प्रचण्डले पहिलोपटक ओलीलाई भेट्न लागेका हुन् । प्रचण्डको सुकुटे ‘रिफ्रेस’पछि हुन लागेको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


प्रतिक्रिया दिनुहोस्