जय जयकार गर्न नसक्दा गुमेको रबिको मन्त्री पद

बिरेन्द्र श्रेष्ठ

ताप्लेजुङ । ईतिहासको पानामा भिमसेन थापालाई राज्यद्रोहको मुद्दा लगाएर आजिवन कारावास भोग्न बाध्य बनाउदै जेलमै आत्महत्या गर्न बाध्य बनाईयो, त्यसै गरि आफ्नै माता, पिता, भाई, बहिनी र स्वयं आफुलाई गोलि हानेर मार्ने कुख्यात अपराधीको सज्ञा युवराज दीपेन्द्र वीर बिक्रम शाहलाई दिने हाम्रो नेपालका राजनीतिज्ञहरु, को बाट कसरी परिचालित छन ? त्यो समयले बताउला ।

ईतिहासमा जे लेखियो, मुलुक भित्रका सर्वसाधारणको बुझाई करिव त्यही नै हुने गर्दछ, भने मुलुक बाहिरका आम मानिसको बुझाई पक्कै पनि सम्बन्धित मुलुकको दस्ताबेज अनुसार नै बुझ्ने बुझाउने गर्दछन ।

यो भई रहँदा घरका मुलिले आफ्ना दरसन्तानलाई कस्तो सन्देश दिने, छिमेकी, नातागोता कुल कुटुम्वलाई आफू कस्तो छु भनेर देखाउने, त्यो घरको संस्कार र स्तर निर्धारण गर्ने जिम्मा त्यही घर मुलिहरुकै हुने गर्दछ ।

घर जब सम्म बलियो हुन्छ, तब सम्म बाह्य हस्तक्षेप हुन धेरै कठिन र असम्भव जस्तै हुन्छ तर नेपालमा बिगत देखि हाल सम्मको कथा, ब्यथा र ईतिहासलाई नियाल्दा आफ्नो स्वार्थको लागि जुनसुकै कदम स्विकार्न पछि नपरेको आभाष हुने गरेको छ ।

राष्ट्रिय नीति र मुद्दाहरूमा ऐक्यबद्धता जाहेर हुनु पर्नेमा दलगत, समुहगत बिष्लेशण र छेपारे पद्दति अंगिकार गरिरहेको देख्दा यो मुलुकका राजनीतिक दलहरुले आफू र बढिमा आफ्नो दल बाहेकको राजनीति नगरेको प्रष्ट छ ।

विश्व राजनीति र बिकास कहाँ बाट कता फड्को मारिसक्यो, तर हामी ५ हजार बर्ष पुरानो महाभारतको कहानी भित्रको शकुनि जस्ता प्रेतात्माहरु लाई नेता मानेर अफ्नो मुलुक, आफू र आफ्ना दरसन्तानको भाग्य र भविष्य माथी कुठाराघात गरिरहेको छौ भन्ने सबैले बुझ्दा फरक नपर्ला ।

हामी वीर गोर्खाली, कहिले अरुको दासत्व नस्विकारेको स्वभिमानी भन्न रुचाउँछौ तर आफुलाई फाईदा हुँदा वा आफुलाई अप्ठ्यारो परिरहदा जस्तो सुकै सर्त स्विकार्न पछि नपरेका असङ्ख्य दृष्टान्त हामी माझ छन, जबकी दोग्ला चरित्रले कदापी गन्तव्य हाँसिल गर्न सकिन्न भन्ने प्राय सबै टाठाबाठाले बुझेकै छन् ।

आफ्नो मुलुक, जात, बाबु÷आमाको नाम र धर्म मानिसको बैयक्तिक पहिचान हुन तथापी गरिवी, अशिक्षा, लादिएको कुरितीकै कारण लाखौ मानिसहरुले धर्म परिवर्तन गरेका छन । यो पङ्तिकार हिन्दु धर्म वा धर्म सापेक्षताको बिषयमा थप उल्लेख गर्न वा कुनै धर्म विशेष जोड घटाउको अंकगणित यो लेखमा मिलाउन प्रयत्न गर्ने छैन तर कुनै पनि समुहले कुनै मुलुकको नागरिकको स्वाभिमानमा खेलबाड गरिनु सरासर अधर्म र अनीति हो ।

प्राय अधर्म, पक्षपात, अनीतिको आडमा गठन भएको सरकारले दसकौ देखि मुलुक र जनताको आकांक्षालाई बन्धक बनाईरहेको छ जवकी सफल सरकारको प्रमुख सुत्र भनेकै धर्म यानेकी झुट्को सहारा नलिने, पक्षपात नगर्ने, समान नियम र नीति र थितिको ब्यबहार गर्ने बुझिन्छ ।

मुलुकमा सरकारको रवैया यस्तै रहिआएको नतिजा हो आत्मदाह गर्न बिबस प्रेमप्रसाद आचार्य जसले यो मुलुकमा आफ्नो अभिभावक कँिह कतै पाउँदैनन् । यस्ता हजाराँै लाखौ आम नेपाली नागरिकहरु जो ३५ बर्ष उमेर समूह माथीका छन, धेरै जसोको मनोदशा स्व. प्रेम प्रसाद आचार्य कै जस्तो छ ।

हाम्रो मुलुक नेपाल, सबै मिलेर आत्मदाह गराउन बिबस हुन्जेल मुकदर्शक भएर बस्ने, भिमसेन थापालाई जेलमै आत्महत्या गर्न बिवस गराउने अनि राष्ट्रिय विभुती घोषित गर्ने ?

यस्तो दुर्दशाबाट मुलुकले कहिले उन्मुक्ति पाउने ? कि सदैव हामी स्वर्ग भित्र नारकिय जीवन भोग्न आफुलाई बाध्य बनाईरहने? कित्ता प्रष्ट हुन जरुरि भै सकेको छ ।

मुलुकको सर्वोच्च निकाय संसदले राजदरबार हत्याकाण्डको दोषी श्री ५ दिपेन्द्रलाई बनाए सगै संसदको गरिमामा आएको गिरावट, विभिन्न घटनाको निष्पक्ष न्याय दिन नसकेको आरोप न्यायलय माथी लाग्ने गरेकोले केही समय अगाडी देखि रवि लामिछानेको नागरिक्ता सम्बन्धि मुद्दा आम चासोको बिषय बन्यो ।

नेपालमा एक गैर्ह नागरिकले स्वभिमानी नेपाली माथी हावी हुनु यानेकी सरकारको कुर्सिमा एक गैर्ह नागरिक पुग्नु किमार्थ स्विकार्य विषय हुनै सक्दैन । यो जो कोहि नेपालीलाई स्वीकार हुने बिषय र प्रसङ्ग नै रहेन तर जब सम्म कोहि ब्यक्ति यस्तै परिस्थिति र अवस्थाकाहरु यसरिनै ठुला ठुला कुर्सिमा बसिरहदा तिनिहरुको बिषयमा खोजी र चासो नै गर्दैनन ? तर किन रबि लामिछाने कै खोजी भयो ? के उनले अमेरिकी नागरिकता त्याग गरेर नेपाली नागरिक्ताको सहाराले पासपोर्ट पाउदा र हालसम्म जे जति कर्म गरे ति सबैमा रबि लामिछानेको मात्र दोस हो र ?

रबि लामिछानेको स्थानमा एक अबोध नागरिक भएको भए यो सबै दोसको भागी निश्चितरूपमा कसलाई बनाउथे होला ? दुरुपयोग र सदुपयोग को सुबिधामा किन विभेद गरिन्छ ? कानुनि राज्य, सुशासन र नैतिकताको पाठ अरुलाई पढाईरहदा हिजो अग्नि साप्कोटा सभामुखमा चयन भै रहदा उहाँ माथी लागेको ज्यानको मुद्दाको फैसला भएको थिएन, तर कसरी बहाली हुनु भयो ? किन उहाँलाई थप मुद्दा लगाएर पद मुक्त गर्ने कोसिस कोहि बाट भएन ?

ऐना जस्तै छर्लङ्ग छ, साँचो अर्थमा राष्ट्र प्रेमी आम नेपालीले जे खोजिरहेका छन त्यो नै सत्य हो । हामीले हाम्रो मुलुकको प्रशासन, नियमनकारी निकायहरुको हैसियत कस्तो छ भनेर किन उदाङ्गो हुदैछौ ? के यो नतिजाले कोहि एक अमुक ब्यक्ती दोषि करार होला ? जेल सजाय भोग्न बाध्य बनाउलान ? यो केही बर्ष अगाडी पनि निकै ठूलो प्रपन्च रचेर सडाउन प्रयत्न भएकै हो ।

त्यसैले साँचो अर्थमा यो मुलुकको हित चिताउनेहरु सहिद हुनुको सिवाय अर्को प्रष्ट बिकल्प नदेखिने दुरावस्था छ हाम्रो मुलुकमा । यो अन्धकार चिर्न सबै नेपाली जाग्न र रबि लामिछानेले आफ्नो गन्तव्य नछाडी अघि बढ्न जरुरी छ । यी सकुनिका प्रेतात्मा बोकेका बा हरु बाट यो मुलुकलाई उन्मुक्ति दिलाउन सबै जना एक जुट हुन जरुरी छ । जेलमा सडाएर मर्न बाध्य पारेर राष्ट्रिय बिभुती घोषणा गरिने दुष्कर्म किमार्थ स्वीकार्य हुने छैन ।

लेखक श्रेष्ठ ईन्जिनयर तथा गायक हुन् । उनि लामो समय देखि हाईड्रोमा कार्यरत रहेका छन् भने उनि राजनीतिमा पनि उत्तिकै सक्रिय छन् ।


प्रतिक्रिया दिनुहोस्